अबको प्रधानमन्त्री पनि मै हुँ : देउवा


 


डडेलधुरा, कार्तिक ३०

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा बन्ने आगामी सरकारले बेरोजगार युवाहरुलाई भत्ताको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

गृहजिल्ला डडेल्धुरामा जिल्लावासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अव बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धिसँगै बेरोजगार युवाहरुलाई भत्ताको व्यवस्था गरिने बताए ।

‘‘मैले यसपाली बजेट ल्याउन पाइन । बजेट ल्याउन पाएको भए सामाजिक सुरक्षाको भत्ता त बढाउँथे बढाउँथे, बेरोजगार भत्ता पनि दिने विचार थियो,’’ डडेल्धुरा सदरमुकाममा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘अब प्रधानमन्त्री भएपछि बेरोजगार भत्ता पनि दिन्छु ।’’

डडेल्धुराबासीले आफूमाथि लगाएको गुन कहिल्यै बिर्सन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनमा विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरे ।

‘‘तपाईंहरुले लगाएको गुन कहिल्यै भुल्ने छैन,’’ उनले भने, ‘‘कम्युनिष्ट गठबन्धनकाले जिते माननीयसम्म होलान् मैले जिते प्रधानमन्त्री नै हुने हो । यसकारण कसलाई जिताउने तपाईहरु विचार गर्नुहोस् ।’’

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री भएपछि आफूलाई जनताले ‘यो गर, उ गर’ भनेर भन्न सक्ने बताउँदै भने, ‘‘प्रधानमन्त्रीलाई भन्न सक्ने हो कि माननीयलाई ?’’ डडेल्धुराबासीकै सहयोगले आफू देशको प्रधानमन्त्री हुन पाएको भन्दै अगाडि थपे, ‘‘मलाई गर्व छ डडेलधुरामा जन्मिएकोमा, मलाई गर्व छ यहाँका दाजुभाइले गरेको सहयोगमा ।’’

देउवाले डडेलधुराको नाम विदेशमा समेत चिनाएको बताए । अमेरिका भ्रमणमा गएको बेला त्यहाँ आफूलाई ‘तेरो घर डडेलधुरा होइन ?’ भनेर सोधिएको स्मरण उनले गरे ।

रोजगारीको खोजीमा युवाहरु विदेशिने श्रृङ्खला रोक्नका लागि रोजगारीको बाटो खोल्न जरुरी रहेको जिकिर गर्दै उनले पञ्चेश्वर परियोजनाले यहाँका युवाहरुमा रोजगारीको वातावरण सिर्जना गर्ने बताए । महाकाली सन्धीअनुरुप पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहमति भएको पनि उनले बताए ।

‘‘छिट्टै नै पानीको बाँडफाँड, बिजुलीको बाँडफाँड लगायतको टुङ्गो लगाउन टोली भारतबाट नेपाल आउँदैछ । त्यो टोलीबाट अन्तिम सम्झौता भएपछि काम अगाडि बढ्ने छ,’’ देउवाले भने । उनले पञ्चेश्वर र पश्चिम सेती परियोजना पूरा गरेर यस क्षेत्रको बेरोजगारी र गरिबी अन्त्य गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

डडेल्धुराको उपक्षेत्रीय अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गर्ने भन्दै देउवाले भने, ‘‘यसका लागि जग्गा पनि छ र सम्भावना पनि छ । म पहल गर्छु ।’’ उनले भित्री मधेसका जनतालाई भारत आवत जावतमा सहजता ल्याउन जोगबुढा क्षेत्रको महाकाली नदीमा पक्की पुल बनाउने काम अगाडि बढी सकेको बताए ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्