विश्वकपका लागि छनौटमा परेका राष्ट्रको नाम सार्वजनिक, कुन–कुन देश परे? (सूचीसहित)


 


काठमाडौं, कार्तिक ३०

आगामी वर्ष रुसमा  हुने फिफा विश्वकप फुटबलमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो लागेको छ ।

विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको खेल सकिएसँगै विश्वकप खेल्ने ३२ राष्ट्रको तय भएको हो ।

अन्तर महादेशीय प्ले अफमा न्युजिल्यान्डलाई समग्रमा २–० ले पराजित गर्दै पेरुले विश्वकपमा स्थान पक्का गरेको हो । पेरु रुस विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र समेत बन्यो ।

आगामी वर्ष रुसमा हुने विश्वकपका लागि फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीको टुंगो लागेको हो । यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएको छ  ।

त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो । योपटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन सकेनन् ।

रुस विश्वकपमा पटक पाँच पटकको विजेता ब्राजिल,  साबिकको बिजेता जर्मनी लगायतका  ठुला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकप बाहिर पुगेको छ ।

युरोप बाहिरबाट अमेरिका, चिली, आइभरी कोष्ट,घाना जस्ता राष्ट्रहरुले  अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् ।  यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

 छनोट भएका राष्ट्रः

युरोप : रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम,पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसिया : जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

दक्षिण अमेरिका : ब्राजिल, अर्जे्न्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिका : इजिप्ट,नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्