रोनाल्डोले रियल मड्रिड छाड्ने


 


एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले सिजनको अन्त्यमा क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय रियल मड्रिडमा खुसी नदेखिएका रोनाल्डोले सिजनको अन्त्यसँगै क्लब छाड्ने योजना बनाएको इंग्लिश मिडिया मिररले जनाएको छ ।

स्पेनिस महारथी रियल मड्रिडसँग रोनाल्डोको सम्झौता २०२१ सम्म रहेको छ ।

तर, पछिल्लो समय क्लबमा राम्रो गर्न नसकिरहेको र कर छली जस्ता मुद्दाको कारण रोनाल्डोले सम्झौता नसकिदै सान्टियागो बेर्नाबेउ छाड्ने लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रोनाल्डोले पछिल्लो समय कर छलीको आरोप खेपिरहेका छन् ।

इंग्लिश मिडिया मिररले स्पेनिस टेलिभिजन एल चिरीङगुइटोलाई उद्धृत गर्दै रोनाल्डो क्लबसँग निकै असन्तुष्ट रहेको र अध्यक्ष फ्लोरेन्टिनो परेजलाई समेत क्लब छाड्ने योजना सुनाएको समचार लेखेको छ ।

त्यस्तै टेलिभिजन एल चिरीङगुइटोले रोनाल्डोले क्लबका अध्यक्ष परेजसँग थप सुविधा तथा थप सम्झौता गर्न अस्वीकार समेत गरेको जनाएको छ ।

गत सिजन रियललाई च्याम्पियन्स लिग तथा स्पेनिस ला लिगा जिताएका रोनाल्डो यो सिजन भने उत्कृष्ट लयमा रहेका छैनन् । त्यस्तै ला लिगामा समेत रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंकले पछि छ । प्रतिबन्धका कारण सिजनको सुरुवाती तीन खेल गुमाएका रोनाल्डोले ला लिगामा यो सिजन १ गोल मात्र गरेका छन् ।

चार पटकको बालोन डी ओर बिजेता रोनाल्डो पछिल्लो समय असन्तुष्ट हुन थालेपछि स्पेनिस क्लब रियलले समेत उनको बिकल्पमा अन्य खेलाडी भित्र्याउन प्रयास गरिरहेको छ ।

क्लबका अध्यक्ष परेजले गत साता पेरीस सेन्ट जर्मेनका ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउन उनका बुबासँग समेत छलफल गरेका थिए ।

परेजले नेयमारका बुबासँग उनी क्लब आउन चाहे ढोका सधैँ खुला रहने बताएका थिए । यता, पोर्चुगिज ३२ बर्षे स्टार पुनः इंग्लिश क्लब फर्कन सक्ने समेत मिररले लेखेको छ ।

रोनाल्डोलाई इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पछिल्लो समय आँखा लगाउँदै आएको छ । रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो सन् २००९ मा युनाइटेडबाटै स्पेन आएका थिए ।

यो बर्षको फिफा बर्ष खेलाडी जितेका रोनाल्डो युनाइटेडबाट कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा रियल आएका थिए । रोनाल्डोले रियलबाट २७२ खेलबाट २८६ गोल गरिसकेका छन् । उनले रियलबाट ३ पटक चाम्पियन्स लिग र २ पटक ला लिगाको उपाधि जितेका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्