आज बाट एनालग केवल टिभी बन्द, कसरी गर्ने त डिजिटलाइजेशन ?


 


काठमाडौं, कात्तिक २९

सरकारले एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न सुरु गरेको छ ।

देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन सेवा बन्द गर्न सुरु गरेको हो ।


पहिलो दिन नै ८ वटा एनालगमै चलिरहेका केबल टेलिभिजनको कन्ट्रोल रुम को ज्याक सिल गरेको सूचना तथा सञ्चार मन्त्रालयकी सहप्रवक्ता संगीता ओझाले जानकारी दिनुभएको छ ।  सुबिसुको एनालग केबल टेलिभिजन, सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको ओझाले बताउनुभयो ।

नगरपालिकाहरु पनि अब एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ ।

कसरी गर्ने डिजिटलाइजेशन ?

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताहरुले टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट टप बक्स लगाउनुपर्छ ।
केबल टीभी अपरेटरले भने आफ्नो हेड इनमा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प छन् ।

पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।

अहिलेको केबल टेलिभिजनमा सेट टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ ।
अहिले नेपालमा मल्टी सर्भिस अपरेटरको लाइसेन्स लिएका विभिन्न १० सेवा प्रदायकले डिजिटलको टीभी सेवा दिइरहेका छन् । सिम्पल मिडिया नेटवर्कको ‘सीम टीभी’, सुविसु केवल नेटवर्कको ‘क्लियर टीभी’, डिभाइन नेटवर्कको ‘मेरो टीभी’ लगायतका कम्पनीले डिजिटल प्रविधिको टीभी प्रसारण गरिरहेका छन् ।

अब केबल अपरेटरले यिनै कम्पनीहरुसँग डिजिटल सिग्नल लिएर पनि ग्राहकसम्म डिजिटल टीभी सेवा दिन सक्नेछन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्