शेरधन राई भन्छन् -‘मेरो हत्या गर्ने उद्देश्यका साथ आक्रमण भयो’ (भिडियो सहित)


 


भोजपुर, कात्तिक २९
एमाले पोलिटब्युरो सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले मंगलबार भएको बम आक्रमण आफुमाथि हत्या गर्ने उद्देश्यका साथ भएको बताएका छन् ।

प्रदेश सभा भोजपुर क्षेत्र नं २ मा वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका राईले बुधबार मिडिया सेन्टर भोजपुरले गरेको पत्रकार सम्मेलनमा सुनियोजित ढंगले आफुमाथि उक्त हमला गराईएको बताए ।

नजिएको प्रदेश र प्रतिनिधी सभा निर्वाचन विथोल्ने किसिमका गतिविधि भईरहेका बेला भोजपुरमा यस्तो घटना हुनमा सिंगो गठबन्धनको तर्फबाट घोर निन्दा गरेको राईले बताए ।

‘यो घटना मेरो हत्या गर्ने उद्देश्यका साथ घटाईएको छ । यस घटनाप्रति म र सिंगो बाम गठबन्धनको तर्फबाट घोर निन्दा र भत्र्सना गर्न चाहान्छु ।’ राईले भने ।

राईले घटनामा संलग्न दोषीहरुलाई चाँडोभन्दा चाँडो पत्ता लगाई कडाभन्दा कडा कानुनी कटघरामा उभ्याउन सरकार समक्ष माग गरेका छन् । घटनाको विषयमा राई कसैले जिम्मेवारी नलिएको र घटनाको प्रकृतिलाई हेर्दा जघन्य सांघातिक हमलाको संज्ञा दिएका छन् ।

‘घटना तर्साउनका लागि नभएर ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरिएको हो ।’ राईले भने, ‘घटना गम्भिर र रहस्यमय र यसले कयौँ प्रश्नहरु पनि खडा भएका कारण घटनाको छानबिन गर्न उच्चस्तरिय समिति गठन गरेर गर्नुपर्नेमा जोडदार माग गरेको छु ।’

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्