सन्यास घोषणा गर्दै यसरी मैदान छोडे अनिलले


 


काठमाडौं, कार्तिक २८

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा फरवार्डर अनिल गुरूङले मंगलबारबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फिलिपिन्स विरुद्धको खेलबाट नेपालको जर्सीमा आफ्नो ५० औं क्याप पूरा गर्दै अनिलले सन्यास लिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कप्तान गुरुङलाई सम्मानसहित विदाइ गरेको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले अनिललाई विदाइ गरेका थिए । सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका अनिल गुरूङले नेपाली फुटबलमा ५० औं क्याप पूरा गर्दै सन्यास लिए । उनले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मैदानबाट बाहिरिनु अघि अनिलले मैदानको बीच भागमा ढोगेका थिए । उनलाई टिम समकक्षी र प्रशिक्षकले उचाल्दै सम्मानका साथ विदाइ गरे ।

सन्यास लिँदै गुरूङले आफू फुटबलबाट टाढा हुन नसक्ने बताएका छन् । “मेरो प्रदर्शनलाई हेर्ने हो भने म सन्तुष्ट छु । अबको दिनमा म राष्ट्रिय टिममा नरहे पनि क्लबबाट भने खेल्नेछु । फुटबलबाट टाढा रहन सक्दिन । यत्रो वर्ष नेपाली फुटबलमा लागेँ, आफूले जानेको सिकेको कुरा बाँड्नेछु ।”

उनले अघि थपे, “मैले मिस गर्न भनेको मेरो १० नम्बर जर्सी र मेरो फ्यान हो । फ्यानहरूले जुन अनिल गुरूङ भनेर चिच्याउँछन् नि, त्यो कुराहरू चाहिँ निकै मिस हुनेछ ।”

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्