बाम गठबन्धनका उमेद्वार असुरक्षित : फेरी प्रचारमा हिडेको गाडी माथि बम प्रहार


 


संखुवासभा, कात्तिक २८

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।


एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ ।रासस

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्