मलेसियाबिरुद्ध नेपालको ८ विकेटको जित


 


काठमाडौं, कात्तिक २८

एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसिया माथि ८ विकेटको शानदार जित हासिल गरेको छ ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गरेको हो ।

ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भएका थिए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालाई जित दिलाएका हुन् ।


यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो ।

वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा झारिएको खेलमा नेपालको शशक्त बलिङ आक्रमणसामू मलेसिया निरिह बनेको थियो ।

घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २–२ तथा अनिलकुमार साहले १ विकेट लिएका थिए ।
५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमाएको थियो ।

यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्