५९ वर्षपछि इटाली विश्वकपमा छनौट हुन सकेन


 


काठमाडौ‌, कार्तिक २८

चार पटकको बिजेता इटाली आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट हुन अफसल भएको छ । विश्वकप छनोट अन्तर्गत सोमबार राति युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा स्विडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटाली समग्रमा १–० ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

स्विडेनको घरेलु मैदानमा भएको पहिलो लेगको १–० को हारले इटाली विश्वकप बाहिर पुगेको हो । यस्तै घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि इटाली गोल गर्नबाट चुक्दा विश्वकपमा छनोट हुन असफल भएको छ । इटालीले २७ पटकसम्म पोस्ट प्रहार गरे पनि त्यो गोलमा परिणत भने हुन सकेन ।

 

फुटबलमा निकै चर्चित राष्ट्र इटाली ५९ बर्षपछि पहिलो पटक विश्वकपमा पुग्न असफल भएको हो । इटाली सन् १९५८ पछि विश्वकप बाहिर पुगेको हो । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ गरी चार पटक विश्वकपको उपाधि जितेको थियो । यस्तै इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।

 

यता, स्विडेनले भने इटालीलाई जिल्याउँदै १२ वर्षपछि विश्वकपमा स्थान पक्का गर्यो । सन् १९५८ को उपविजेता बनेको स्विडेनले सन् २००६ को विश्वकप खेलेको थियो । स्विडेन विश्वकपमा छनोट हुने २९ औं राष्ट्र बन्यो । विश्वकप खेल्ने ३२ राष्ट्र मध्ये अब ३ राष्ट्रको टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्