वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जनाैं घाइते


 


सोलुखम्बु, कात्तिक २४
सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप हुँदा आधा दर्जन घाइते भएका छन् ।

झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ गम्भिर घाइते  भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्राप्त जानकारीअनुसार वाम गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो ।
झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएको छ । तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्