काठमाडौंमा आगलागीमा परी यसरी एक जनाको मृत्यु भयो


 


काठमाडौँ, कात्तिक २३
आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । सो घटनामा परी दुई जना घाइते भएकाम ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।

आगलागीका कारणबारे खोजी भइरहेको छ । आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

“पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ”, उपरीक्षक क्षेत्रीले भन्नुभयो । आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्