पर्यटक उम्मेदवार भनेपछि आरजू राणाले किनिन कैलालीमा घर


 


धनगढी,कात्तिक २३
पर्यटक उमेद्वार भनेपछि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।

उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।


घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् ।

कांग्रेस उम्मेदवार आरजू राणा देउवा धनगढीमा नयाँ घर खरिद गरी सरिसके पनि नामसारी भने भएको छैन
धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेको क्षेत्रसमेत हो । देउवा त्यस बेला डडेलधुरा र तत्कालीन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । यसपटक कैलालीमा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्