रोनाल्डोको ठाउँमा नेयमार भित्र्याउने रियल मड्रिडको तयारी


 


काठमाडौं, कार्तिक २३

स्पेनिस क्लब रियल मड्रिडले पेरीस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार भित्र्याउन पहल थालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा रियलले नेयमारलाई क्लबमा भित्र्याउन पहल थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

रियल मड्रिडमा पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोको प्रभाव कम हुँदै गएपछि क्लबले उनको स्थानमा नेयमार भित्र्याउने योजना बनाएको हो । रियल मड्रिडसँग रोनाल्डोको सम्झौता सन् २०२१ सम्म रहेको छ ।

रोनाल्डोको सम्झौता सकिएपछि रियलले नेयमारलाई रोनाल्डोको विकल्पको रुपमा हेरेको हो । गत सिजन क्लबलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले यो सिजन भने जम्न सकेको छैन । ला लिगामा सिजनको सुरुवाती चार खेलमा प्रतिबन्धमा परेका रोनाल्डोले अहिलेसम्म मात्र एक गोल गरेका छन् ।

इंग्लिश मिडिया डेलीमेलले नेयमारलाई क्लबमा भित्र्याउन रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले नेयमारका बुबा नेयमार सिनियरसँग भेट गरेको समेत जनाएको छ ।

नेयमार फ्रान्सबाट स्पेन सरुवा हुने पक्का भने नभएको डेलीमेलले जनाएको छ । तर, अध्यक्ष परेजले नेयमारका बुबासँग उनी क्लब आउन चाहे क्लबले सधै ढोका खुल्ला राख्ने बताएको डेलिमेलले उल्लेख गरेको छ । रियलले सन् २०१३ मा समेत नेयमार भित्र्याउन खोजेको थियो । तर, ब्राजिलियन स्टार नेयमारले बार्सिलोना रोजेका थिए ।

यता, विश्वको सर्वाधिक महंगा खेलाडी नेयमारले पनि फ्रान्समा एक उपाधि जितेर पुन स्पेन फर्कने चाहना राख्दै आएका छन् । नेयमार बार्सिलोनबाट यो सिजन कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा पिएसजी आएका हुन् । नेयमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गरेका थिए । उनले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्