स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्या वृद्धि
रामपुर, पाल्पा, कात्तिक २२
स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा यहाँ वृद्धि भएको छ ।
आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो ।
पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने यहाँका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गर्छन् । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको छ ।
गर्भवती महिलामध्ये आर्थिक वर्ष ०७३÷७४ मा ६९ प्रतिशत, ०७२÷७३ मा ६२ प्रतिशत र ०७१÷७२ मा ६५ प्रतिशतले स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भइरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु चार सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले यातायात खर्च बापत थप रु एक हजार पाउने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ । यसले गर्दा पनि महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको बताइएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार