घाटामा भोजपुरका किसान


 


भोजपुर, साउन २३

भोजपुरस्थित कृषि विकास कार्यालयका अनुसार धान, मकै, कोदो र गहुँँजस्ता अन्नबाली लगाउँदा धेरै लगानीमा कम उत्पादन हुने गरेको छ। जीवन निर्वाहको लागि जमिनमा पसिना बगाए पनि अधिकांश किसानले सुख पाउन नसकेको वरिष्ठ कृषि अधिकृत सरोजकान्त अधिकारीले बताए।

किसानले अन्नबाली लगाउँदा खर्च हुने श्रम, समय अवधि र रासायनिक मलको खरिद महँगो पर्ने भएकाले उत्पादित खाद्यान्नको मूल्यले लगानी नउठ्ने अधिकारीको भनाइ छ। उनका अनुसार रासायनिक मलको मूल्य सरकारी अनुदान प्राप्त युरिया प्रतिकिलोग्राम २० रुपैयाँ, खुला बजारमा ३५ रुपैयाँ, डीएपी मल अनुदानमा प्रतिकेजी ३२ रुपैयाँ, खुला बजारमा ४५ रुपैयाँसम्म पर्ने गरेको छ।

भोजपुरमा खेतबारी जोत्न प्रतिहल गोरुको ज्याला एक हजार, जनशक्ति दैनिक प्रतिव्यक्ति पाँच सयदेखि सात सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ। बाँझो जोतेदेखि बीउ छर्ने, गोडमेल, स्याहार सुसार, हेरचाह बाली काट्ने र उठाउँदा सम्मको लगानी हिसाब गर्दा मकै खेतीबाट प्रतिहेक्टर आठ हजार एक सय ३९ रुपैयाँ मात्र आम्दानी हुने गरेको अनुसन्धानमा देखिएको छ।

भोजपुरमा प्रतिहेक्टर अर्थात २० रोपनी खेतबारीमा धान, मकै, गहुँ र कोदो खेती गर्दा चारदेखि पाँच महिनाको अवधिमा ४३ हजार ६ सय ३२ रुपैयाँ लगानी हुने र त्यसबाट तीन मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ। तर यसबाट ५१ हजार ७ सय ७१ रुपैयाँ आम्दानी हुने कृषि कार्यालयले जनाएको छ। ‘यो हिसाबले किसानहरू घाटामा छन् तर नगरी पनि भा छैन,’ अधिकारीले भने, ‘परम्परागत अन्नखेती फाइदाजनक छैन तर खेतबारी बाँझो पार्नु नि भएन।’

कृषि गणना २०६८ को प्रतिवेदन अनुसार भोजपुरमा २४ हजार २ सय ७१ घरपरिवारले ११ हजार ९ सय १३ हेक्टरमा धान, १३ हजार २ सय २६ हेक्टरमा ३७ हजार एक सय ३० परिवारले मकै, ६ हजार ४ सय २४ हेक्टरमा २ हजार ६ सय ७६ घर परिवारले कोदो र ७ सय ४७ हेक्टरमा ३ हजार ५ सय ७३ परिवारले गहुँँ खेती गर्दै आएका छन्।

तर सरकारले बर्सेनि रासायनिक मलको ढुवानी अनुदानसमेत कटौती गर्दै आएको छ। यस वर्ष भोजपुरमा चार सय टन रासायनिक मल ढुवानीको लागि २६ लाख रुपैयाँमात्र उपलब्ध गरायो।

गत वर्ष १ हजार २ सय टन मल ढुवानीका लागि ६२ लाख रुपैयाँ उपलब्ध गराएको थियो। सरकारले दिएको ढुवानी अनुदानको रासायनिक मलले जिल्लाको दुई नगरपालिका र ५४ गाविसका बासिन्दालाई पर्याप्त पुगेन।

अनुदानको मलले नपुगेपछि किसानहरू युरिया प्रतिबोरा (५० केजी) एक हजार ७ सय ५० रुपैयाँ र डीएपी प्रतिबोरा २ हजार २ सय ५० रुपैयाँका दरले खुला बजारमा किन्न बाध्य भए। खाद्यान्न बालीमा ज्यादा श्रम र आर्थिक लगानी हुने भएकाले फाइदा नहुने भोजपुर नगरपालिका ८ पालुवाका किसान शैलेन्द्र कार्कीले बताए।

किसानले सस्तोमा बन्ने गड्यौंला, बंगुर, कुखुरा, भैंसी, भेंडाबाख्रा, गाईवस्तुलगायत विभिन्न पातपतिंगरबाट कम्पोस्ट मल बनाएर कृषि बालीमा लगाउन सके आम्दानी वृद्धि हुने कृषि विज्ञहरूले राय दिने गरेका छन्। कृषि व्यावसायलाई औद्योगीककरण गरी उत्पादनमा वृद्धि गर्न किसानलाई प्राविधिक परामर्श दिने गरेको कृषि कार्यालयले जनाएको छ।

कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्