बाम गठबन्धनले सघाएपछि २० हजार मतले लिङ्देल अगाडि, सिटौलाको छुटे पसिना


 


काठमाडौं, कार्तिक २२

देशभर राप्रपासँग तालमेल गरेको नेपाली कांग्रेसले झापामा समझदारी गर्न नसक्दा लगभग सबै क्षेत्रमा कमजोर बनेको छ ।

राप्रपाका बलिया उमेदवार तथा महामन्त्री राजेन्द्र लिङ्देनलाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं ३ छोड्न नमान्दा यस्तो अवस्था बनेको हो ।

क्षेत्र नं ३ मा यसअघि चुनाव जितेका सिटौलाले उनका निकटतम प्रतिद्वन्द्वी लिङ्देनलाई नछोड्दा सिटौलाको चुनावी भविष्य धरासायी भएको छ । यसको अर्को कारणका रुपमा सो क्षेत्रमा तुलनात्मक रुपमा कमजोर एमाले–माओवादी गठबन्धनले लिङ्देनलाई सघाउने निर्णय गरेपछि झापा कांग्रेस तरंगित बनेको छ ।

जिल्लाको क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी गाउपालिका, हल्दीवारी गाउपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिकाको वडा नं.१० पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तहको मतअनुसार एमालेको २० हजार २९६ मत छ भने कांग्रेसको १८ हजार २६० मतसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रको १० हजार ४४४ मत छ भने राप्रपाको १२ हजार ८८१ मत छ ।

अब, यो क्षेत्र एमाले–माओवादी, राप्रापा एकतर्फ र कांग्रेस अर्कोतर्फ हुँदा लिङ्देनभन्दा सिटौला २० हजारभन्दा बढी मतले पछाडि देखिन्छन् ।
जसले गर्दा व्यक्तिगत भोटमै बलियो लिङ्देनलाई हराउन सिटौलाले बुताले नभ्याउने स्थानीय जानकार बताउँछन् ।

यसअघि सिटौलालाई समानुपातिकको एक नम्बरमा राखेर सो क्षेत्र राप्रपालाई दिने तयारी भएको थियो । तर, सिटौलाले कुनै हालतमा उक्त क्षेत्र नछाड्ने अडान लिएपछि उनी पुन प्रत्यक्ष उमेदवार बन्न पुगेका हुन् ।

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्