एमाले र माओवादीको एकता कहिले हुन्छ ? ओली र प्रचण्डले गरे नयाँ खुलासा


 


काठमाडौं, कात्तिक २१
विगत छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प गरेका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर आज सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रतिबद्धता जनाइएको हो ।

घोषणापत्रमा भनिएको छ, “जतिसक्यो छिटो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरी विधिवत् एकीकृत पार्टी निर्माण गरिनेछ ।”

घोषणापत्रमा एकीकरणको काम पूरा नहुँदासम्म दुवै पार्टीका सबै कमिटी र जनसंगठन यथावत्रूपमा सञ्चालनमा रहने उल्लेख गरिएको छ । घोषणापत्रमा मुलुकका निर्णायक शक्तिका रूपमा रहेका कम्युनिष्ट पार्टीबीचको तालमेल र पार्टी एकतालाई बदलिँदो परिस्थितिमा ऐतिहासिक आवश्यकता भनिएको छ ।

एमाले र माओवादी केन्द्रले असोज १७ गते एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । उक्त घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएको साझा घोषणापत्रमा भनिएको छ ।

वाम तालमेल र एकताको घोषणपछि मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको उल्लेख गर्दै साझा घोषणापत्रमा कम्युनिस्टको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्नेको ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिस्ट अधिनायकवादको हौवा पिटाइएको भनिएको छ ।

घोषणापत्रमा भनिएको छ, “दुई कम्युनिस्ट पार्टीको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लिखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधानअनुरूप छ ।”

एकता प्रयत्न विसं २००७ देखिको भएको उल्लेख गर्दै दुवै पार्टीले एकताको पहल नेपालका आम न्यायपे्रमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायकका रुपमा चित्रित गरेको छ ।

दुई पार्टीपछि मुलुकका जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै जाने विश्वास व्यक्त गरिएको छ ।

एकता राष्ट्र पुनःनिर्माण गर्ने संकल्पको द्योतक भएको उल्लेख गर्दै सबै कम्युनिस्टका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीलाई एकताका लागि घोषणा पत्रमा आह्वान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गरिने भन्दै मुलुकको समृद्धिका लागि नेतृत्व क्षमता एकताबद्ध भइरहेका दुई कम्युनिस्ट पार्टीसँग मात्र घोषणापत्रमा उल्लेख छ ।

नेपालको संविधानले सामाजिक–आर्थिक रूपान्तरणसहित समाजवादउन्मुख व्यवस्थातर्फ मार्गनिर्देश गरेको भन्दै संविधानको मार्गनिर्देशबमोजिम अगाडि बढ्न दुई पार्टी प्रतिबद्ध छ, भनिएको छ ।

प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्यमान्यता नेपाली समाजवादका विशेषताका रूपमा रहने उल्लेख गर्दैै घोषणापत्रले समाजवादमा राष्ट्रिय पूँजीको संरक्षण, विकास र परिचालन गरिने बताइएको छ ।

जनताको समर्थन प्राप्त हुँदा राज्यको नेतृत्व गर्ने, समर्थन प्राप्त भएन भने प्रतिपक्षमा रहने, तर संविधानसम्मत समाजवादउन्मुख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने प्रयासलाई भने सफल हुन नदिने प्रतिबद्धता साझा घोषणापत्रमा छ ।

कानूनी जटिलता र भावनात्मक पक्षलाई ध्यान दिनुपरेकाले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनताबीच जान नसकिएको पनि घोषणा पत्रमा उल्लेख छ । रासस

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्