ब्लड बैंक बन्दै सेना र प्रहरी


 


बाबुराम बास्तोला
संखुवासभा, कात्तिक २०
जिल्ला अस्पताल संखुवासभामा सायद रगत दिनुपर्ने बिरामी भर्ना नभएको कुनै दिन हुन्न । अस्पतालमा ब्लड बैंक छैन । इमरजेन्सी कक्षमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन ।

चिकित्सक भने सैनिक गुल्मपति र प्रहरी प्रमुखलाई फोन डायल गरी सोध्छन, इमर्जेन्सी र्पयो सर, रगत चाहियो । ड्युटीमा खटिएका सैनिक, प्रहरीलाई हतार हतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन ।

रक्तसञ्चार सेवा नहुँदा जिल्लामा नेपाली सेना र प्रहरी ब्लड बैंक बन्ने गरेका छन्। । स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रक्तदाता जुटाउनैमा एक घन्टाभन्दा बढी लाग्छ ।

जिल्ला स्वास्थ्यको मागअनुसार सैनिक, प्रहरी जवानले यसरी आपतकालीन रक्तदान गर्न थालेको वर्षौं भइसक्यो । बिरामीलाई रगत चाहिए सबैले सम्झने नाम हो, सेना, प्रहरी ।

जिल्लामा ब्लड बैंकका रूपमा काम गर्दै आएका छन, सैनिक गुल्म र प्रहरी कार्यालय । जिल्ला अस्पतालमा स्वास्थ्यकर्र्मी सेना र प्रहरीबाहेक अन्य पेसा व्यवसायीले प्रायःजसो रक्तदान गरेको भेटिन्न ।

खबर गर्न सजिलो र रक्तदानका लागि कन्भिन्स गर्नु नपर्ने भएकाले सीधै सैनिक, प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरेको जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख डा. विनित कुमार झाले बताए ।

खाँदबारी स्थित सेनाको बराहदल गुल्मका गुल्मपति विवेक काफ्लेले आफ्ना सिपाहीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गरे । आपत परेका बेला एकैदिन १०÷१५ जनालाई पनि रक्तदान गर्न सकिन्छ, उनले भने, गुल्म नहुँदो त अकालमा थुपै्र मान्छे मरिसक्थे ।

जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर आफूहरूले इमर्जेन्सी सेवा दिएको उनले बताए । रक्तसमूह मिल्ने सिपाही आफैं रक्तदान गर्न राजीखुसी हुन्छन् । गुल्म भएकाले जुनसुकै समूहको रगत फेला पार्न गाह्रो हुँदैन, काफ्लेले भने ।

सेनाले मात्र होइन प्रहरीले पनि रगत दिएर धेरैको ज्यान बचाएका उदाहरण छन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत चढाउनुपर्ने अवस्था निम्तिने गरेको छ । चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरू बढेझैं उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै निम्तिने गर्दछ । त्यसैले जिल्लामा रगतको बढी खाँचो परेको हो ।

यता रेडक्रस पनि ले खाँदबारी स्थित सेनाको बराहदल गुल्म, सदरमुकाम सुरक्षाका लागि आएका सशस्त्र प्रहरी र जिल्ला प्रहरीको जवान र अधिकृतको नामावली र ब्लड ग्रुप राखेर सम्पर्क गर्दै बिरामीलाई रगत उपलब्ध गराउने गरेको छ ।

जिल्ला स्वास्थ्य प्रमुख समेत रहेका अस्पतालका डा. वितिक कुमार झाले बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्ने गरेको अनुभव सुनाए । हामीकहाँ ब्लड बैंक छैन ।

ब्लड बैंक नहुँदा रगत सञ्चय गर्न नसकिएको जिल्ला स्वास्थ्य प्रमुख डा. विनित कुमार झाले बताए। यसको व्यवस्थापन गर्न नसक्दा बिरामीलाई रगत दिनुपरेमा प्रहरी र सेनाकै भर पर्नुपर्ने बाध्यता बनेको छ, उनले भने, चाहिँदासाथ हामी सदरमुकामै रहेको सेनाको बराहदल गुल्ममा खबर गर्छौं, केहीबेरमै सेनाका जवानबाट बिरामीलाई रगत दिइहाल्छौ ।

डा. झाले भने,ब्लड बैंक स्थापनाका लागि पहल गरिरहेका छौं । सदरमुकाममा समेत ब्लड बैंक नहुँदा बेलाबेला रक्त संकलन हुन सकेको छैन । जिल्लाका अन्य प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्रहरू बाट उपचार आशा बोकी बिरामीलाई जिल्लामै ल्याउने गरिन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्