इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुल्यो, हेर्नुस फारम भर्ने कसरी ?


 


काठमाडौं, कात्तिक २०

सवारीसाधनको इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुलेको छ ।
गत भदौ ५ गतेबाट सञ्चालनमा ल्याइएको इम्बोस्ड नम्बरप्लेटमा संविधानबाट खारेज भइसकेको अञ्चल लेखेर यातायात व्यवस्था विभाग लगायत सरकारी १३ वटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्रयोग गरिएको थियो ।

यातायात व्यवसायी र सर्वसाधारणको निरन्तरको विरोधपछि अञ्चल उल्लेखित इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर लेखिने भएपछि फेरी सञ्चालनमा ल्याइएको हो ।
नम्बरप्लेट बनाउनका लागि प्रदेश अङ्कीत फ्रेमलगायत अन्य सामग्री जुटिसकेपछि प्रदेश लेखिएका नम्बरका लागि अनलाइन आवेदन सोमबारबाट खुला गरिएको छ ।


त्यस्तै इम्बोस्ड नम्बरप्लेटमा नेपाली अङ्क, अक्षर नलेखिएको प्रति तत्कालीन केही सांसदले उक्त बैठकमा प्रतिक्रिया जनाएका थिए । यता विभागका महानिर्देशक रुपनारायण भट्टराईले नेपाली अङ्क, अक्षरको फ्रेम नपाइएकाले इम्बोस्ड नम्बर अंग्रेजीमा लेखिएको बताए ।

हाल सरकारी सवारीसाधनमा अनिवार्य र निजीमा स्वैच्छिक रुपमा इम्बोस्ड नम्बर जडान गर्ने सरकारको तयारी रहेको छ ।
पहिलो चरणमा तीनपांग्रे तथा चारपांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन भर्न पाउनेछन् । यसका लागि टेम्पोलगायतका तीनपांग्रे साना सवारीसाधनलाई २ हजार ९ रुपैयाँ शुल्क लाग्नेछ ।

यस्तै कार, जिप, डेलिभरी भ्यान तथा ट्रयाक्टरलगायत चारपांग्रे सवारीसाधनले इम्बोस्ड नम्बरप्लेट जडानका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ । शुल्क बुझाएको रसिद नम्बरसहित आफ्नो गाडीको सम्पूर्ण विवरण यातायात व्यवस्था विभागको वेबसाइड www.dotm.gov.np  मा उपलब्ध अनलाइन फारमा भरेर आवेदन दर्ता गर्न सकिनेछ ।

काठमाडौंमा सफल कार्यान्वयन भएपछि आगामी ५ वर्षमा इम्बोस्ड नम्बर देशैभरि अनिवार्य गरिने सरकारको तयारी रहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्