सिलवालको रद्द, २ को उम्मेदवारी फिर्ता


 


काठमाण्डाै‌, कार्तिक २०

२०७४-प्रतिनिधि र प्रदेशसभा चुनावका लागि भक्तपुर क्षेत्र २ अन्तर्गत प्रदेश (क) मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उद्धव सिलवालको मनोनयन रद्द भएको छ ।

कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सिलवाल र अंगद खड्कामध्ये आइतबार कांग्रेसले खड्काको उम्मेदवारीलाई आधिकारिक मान्दै पत्र पठाएपछि सिलवालको मनानयन रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको विरोधमा जिल्ला सभापति दुर्लभ थापाले प्रदेश (क) मा टिकट अस्वीकार गरेपछि सिलवाल र खड्काले उम्मेदवारी दिएका थिए । दुवैले पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका थिए । आइतबार पार्टीले खड्कालाई आधिकारिक उम्मेदवार तोकेको हो ।

प्रतिनिधि र प्रदेशसभा चुनावका लागि भक्तपुरमा उम्मेदवारी दर्ता गराएका ७० मध्ये दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश (क) बाट रमेश बुढाथोकी र क्षेत्र २ अन्तर्गत प्रदेश (ख) बाट राजेन्द्रकुमार कार्कीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले बताए । दुवैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

जिल्लामा ११ दल एवं स्वतन्त्रसहित ६७ जनाको उम्मेदवारी कायम भएको छ । कार्यालयका अनुसार जिल्लाका दुवै क्षेत्रमा कांग्रेस, वाम गठबन्धन, नेमकिपा, राप्रपा, नेपाली कांग्रेस (बीपी), नयाँ शक्ति, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, विवेकशील साझा पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, स्वतन्त्रलगायतले उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धन धरापमा

जिल्लामा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा धरापमा परेको छ । क्षेत्र १ अन्तर्गत प्रदेश (क) मा एमालेका हरिशरण लामिछाने र माओवादी केन्द्रका डीपी ढकाल दुवैको उम्मेदवारी कायम भएपछि गठबन्धन धरापमा परेको हो । दुवै पार्टीका नेताहरूले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन संकटमा परेको हो ।

क्षेत्र १ मा वामगठबन्धन कायम नभए क्षेत्र २ मा समेत सहयोग गर्न नसक्ने माओवादी केन्द्र भक्तपुरले जनाएको छ । जिल्ला संयोजकसमेत रहेका ढकालले एमालेले घात गरेको बताएका छन् ।

‘एमाले(माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले मलाई नै उम्मेदवार बनाएको हो,’ उनले भने, ‘एमालेले जालझेल गर्दै लामिछानेलाई उम्मेदवारी दिन लगायो ।’ सोमबारसम्म यही अवस्था रहे जिल्लामा वाम एकता कायम हुन नसक्ने पनि उनले बताए ।

यता एमालेले भने वाम गठबन्धन टुटाउने पक्षमा जिल्ला तथा केन्द्रीय कमिटी नरहेको जनाएको छ । वाम गठबन्धनको पक्षमा एमाले(माओवादी केन्द्र संवेदनशील रहेको र सोमबारसम्ममा विवाद टुंगिने एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला बताउँछन् ।

वाम गठबन्धनका तर्फबाट क्षेत्र १ प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका मिलन सुवालले उम्मेदवारी दिएका छन् । क्षेत्र १ प्रदेश (ख) मा माओवादी केन्द्रकै तर्फबाट रोमन शिलाकारको उम्मेदवारी छ ।

क्षेत्र २ प्रतिनिधिमा एमालेका महेश बस्नेत, सोही क्षेत्रको प्रदेश १ (क) मा एमालेका शशिजंग थापा र प्रदेश २ (ख) मा एमालेकै राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्