वाम गठबन्धनका दुई पार्टीबीच जिल्लास्तरमा एकिकरण प्रक्रिया शुरु


 


कञ्चनपुर, कात्तिक १९

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र संघको निर्वाचनका लागि वाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट जिल्लास्तरमा पनि पार्टी एकीकरणको प्रक्रिया शुरु भएको छ ।

दुवै राजनीतिक दलको संयुक्त बैठकले एमाले जिल्ला अध्यक्ष तारा लामाको संयोजकत्वमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरेको हो ।

सो समितिमा एमालेबाट उपाध्यक्ष जीवनराज थापा, सचिव सुरेन्द्र विष्ट र उपसचिव रणबहादुर महरा तथा माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापा, अमिन दहित (सूर्य) र गोपाल रसाइली (चिराग)लाई चयन गरिएको छ ।


वाम गठबन्धनको निर्देशनअनुसार गठित सो समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि जिम्मेवारीसमेत बाँडफाँट गरेको छ ।

वाम गठबन्धनको मर्र्म र भावनालाई कार्यकर्तामाझ पु¥याउनका लागि निर्वाचन क्षेत्र नं १ को बेलौरीमा कात्तिक २० गते र निर्वाचन क्षेत्र नं ३ को महेन्द्रनगरमा भेला गर्ने लगायतका कार्यक्रम तय भएको छ ।

निर्वाचन क्षेत्र नं २ को कलुवापुरमा कात्तिक १८ गते भेला सम्पन्न भइसकेको जिल्ला सदस्य हमालको भनाइ छ । संयुक्त वाम एकतालाई खलल पुग्ने गरी कुनै पनि गतिविधि, प्रतिक्रिया, समाजिक सञ्जाल तथा सञ्चारमाध्यमको दुरुपयोग नगर्न नगराउनसमेत दुवै पार्टीका कार्यकर्तालाई निर्देशित गरिएको एनेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो । आजैदेखि गठबन्धनका उम्मेदवारले प्रचारप्रसारको कार्यसमेत शुरु गरेका छन् ।रासस

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्