मोरङ, सुनसरी छाडेर सप्तरीबाट किन उठे उपेन्द्र यादव ? यस्तो छ कारण


 


राजविराज, कात्तिक १९
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले शनिबार राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीबासीको चाहनाले आफूलाई यहाँ तानेर ल्याएको बताउनुभयो ।

अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी छ भन्नुभयो । उहाँले अहिले २ नं प्रदेश प्राकृतिक स्रोत, साधनबाट वञ्चित गराइएकाले यसलाई समृद्ध र शक्तिशाली बनाएर अन्य ठाउँलाई पनि यसमा ल्याउन संघर्ष गर्न जरुरी रहेको बताउनुभयो ।

प्रादेशिक सीमाङ्कनमा राज्यले ठूलो बेइमानी गरेको उल्लेख गर्दै उहाँले संविधान संशोधनका लागि निर्वाचनपछि संघर्ष गरिने बताउनुभयो ।

संघीय प्रणाली, समानुपातिक प्रणाली, राष्ट्रिय पहिचान, संघीय गणतन्त्र तथा धर्म निरपेक्षताको मुद्दा मधेश आन्दोलनको उपलब्धि भएको र यसलाई समाप्त पार्न धेरै प्रयास भइरहेको भन्दै संघीयतालाई जोगाउन आफू हमेसा प्रयासरत रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्