हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ


 


काठमाडौँ, कात्तिक १७

प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौँ बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ । उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु चार लाख ३० हजार बरामद भएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्