गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति


 


काठमाडौँ,  कात्तिक १७

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ ।

महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद हत्यारा पत्ता लगाई सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ । गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउने क्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले गौचनको हत्यारालाई राजनीतिक संरक्षण दिइएको आशंका भएकाले सरकारले सत्यतथ्य यथाशक्य छिटो सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले महासंघको संयमतालाई कमजोरी नठान्न सरकारलाई सचेत गर्दै गौचनका हत्यारा फरार भएबाट सिंगो निजी क्षेत्र आतंकित भएको बताउनुभयो । रासस

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्