कर्मचारी समायोजन सम्बन्धी नयाँ नियमावलीको मस्यौदा तयार


 


काठमाडौँ,  कात्तिक १७

सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो ।

तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराउनुभयो ।

नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको सहसचिव समेत रहनुभएका न्यौपानेले बताउनुभयो ।

नियमावलीमा कुन तहमा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्ने समेत उल्लेख गरिएको छ ।

नियमावलीमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने-नजाने कर्मचारीको व्यक्तिगत वितरण संकलन गरिने उल्लेख रहेको छ । यस्तै कार्यरत पदको ज्येष्ठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोवासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ ।
प्रवक्ता न्यौपानेले नियमावलीलाई चाडै नै ल्याई समायोजनको कार्य थालनी गरिने बताउँदै नियमावली ल्याइसकेपछि ६ महिनाभित्रमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने स्पष्ट पार्नुभयो ।

सरकारले असोज २२ गते कर्मचारी समायोजन सम्बन्धी ऐन जारी गरेको हो ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्