शिक्षाको गुणस्तर विकासका लागि सरकार गम्भीर – शिक्षाराज्यमन्त्री अधिकारी


 


रत्ननगर, चितवन,  कात्तिक १७

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महँगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
सौराहामा आजदेखि शुरु राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने बताउनुभयो ।

संघीय र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि संक्रमणकालको पूर्ण अत्य भई देश आर्थिक समृद्धिको बाटामा अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भएपछि हामीले अगाडि सारेको आर्थिक समृद्धिको एजेण्डा अगाडि आउनेछ र संक्रमणकालको पूर्ण अन्त्य हुनेछ भन्ने हामीलाई विश्वास छ ।” उहाँले निर्वाचन निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षणसमेत गराउनुभयो ।

कार्यक्रममा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षाको गुणस्तर विकासका लागि सरकार गम्भीर रहेको बताउँदै सरकारी शिक्षाको गुणस्तर वृद्धिका विषयमा अहिले आयोग बनेर काम भइरहेको जानकारी दिनुभयो ।

‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिनुभयो महाधिवेशनमा देशभरका दुई हजार ५०० विद्यालयका करीब दुई हजार प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्