कृषिमा आधुनिक प्रविधिको विकाससँगै उत्पादनमा बृद्धि


 


पोखरा, कात्तिक  १५

‘आजभन्दा पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो’ स्थानीयवासी बलबहादुर नेपालीले भन्नुभयो ।
पछिल्ला वर्षमा ट््याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट््याक्टरको प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।
कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट््याक्टरको प्रयोग गर्न थालेका छन् । खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको अर्का कृषक ऋषिराम अधिकारीले बताउनुभयो ।  अघिल्ला वर्षसम्म ट््याक्टरले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न ट््याक्टरको प्रयोगमा पनि कमी आइसकेको उहाँले बताउनुभयो ।


धान पराल छुट््याइदिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उहाँको भनाइ छ । थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा रु दुई हजार ४०० बुझाउने गरिएको बताउँदै उहाँले वर्षेनी भित्रिएका कृषिका आधुनिक उपकरणका कारण कृषिप्रतिको अनिच्छा कम हुनसक्ने बताउनुभयो ।
“आधुनिक उपकरणको प्रयोगले खर्चको कमीका साथै समयको पनि बचत हुने गरेको छ,” अधिकारीले भन्नुभयो, “आधुनिक उपकरणको प्रयोगमा कृषकलाई अभिप्रेरित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनु आवश्यक छ ।”
कास्कीमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन इकाइ कार्यालयमार्फत कृषक समूहलाई लक्षित केही स्थानमा हाते ट््याक्टर लगायतका कृषि उपकरण वितरण गरिएको कृषि अधिकृत इन्द्रमणि लामिछानेले जानकारी दिनुभयो ।

जिल्लाभित्र यस वर्ष धान भित्र्याउने क्रम शुरु भएको जानकारी दिँदै उहाँले हालसम्म कृषकले १० प्रतिशत धान भित्र्याइसकिएको उल्लेख गर्नुभयो । “विशेष गरी आलु लगाउने ठाउँमा लगाइएका मनसुली, र अन्य हाइब्रिड जातका धान कृषकले थन्क्याइसकेका छन्,” उहाँले भन्नुभयो, “जेठोबुढो, पहेँले जस्ता जातका धान भने पाक्ने क्रममा रहेको छ ।”

कास्कीमा पटनेरी, शिशुवा, मालेपाटन, हेमजा, कुँडहर, सार्दीखोला, भलाम, वर्षा, चवादी, छहरालगायतका स्थानमा धान पर्याप्त उत्पादन हुने गर्दछ । विभिन्न उत्पादनशील टारी खेत बाँझा हुनुका साथै पछिल्ला समयमा बढ्दो प्लटिङका कारण खेतीयोग्य जमिन घडेरीमा परिणत बन्दै गएको स्थानीयवासी बताउँछन् ।रासस

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्