फुजेल हत्या काण्ड : मुद्दाको पेशी पुनः सर्यो


 


चितवन, कात्तिक १५

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।

यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो । हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ । पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो । त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक १२ गतेलाई सारिएको थियो ।
जिल्ला अदालत, चितवनमा भर्खरै आउनुभएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानून व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताउनुभयो । देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेशीबाट हटाई पाउँ भनी निवेदन दिनुभएको थियो ।  सो निवेदनको मागअनुसार पेशी सारिएको घिमिरेले बताउनुभयो । झण्डै एक वर्षदेखि सो मुद्दाको पेशी विभिन्न कारण सर्दै आएको छ ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् ।
तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नु भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।रासस

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्