उत्तर कोरियालीे आणविक परीक्षणका क्रममा दुर्इ सय मानिस मारिए


 


टोकियो, जापान, १४ कात्तिक

गत सेप्टेम्बरमा उत्तर कोरियाको आणविक परीक्षणका क्रममा भएको विष्पोटबाट सुरुङ भत्किँदा करिब २०० जना कामदारको पुरिएर मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।

पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ ।

एएफपीलाई प्राप्त समाचारमा भनिएको छ, “शुरुको विष्पोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि मृत्यु भएको थियो ।”

दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ ।

विज्ञ समूहले भनेको छ, “भूमिगत परीक्षणले पहाड भत्किने र यसको विकीरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्ने बताएका छन् ।”

अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो । रासस/एएफपी

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्