नवराज सिलवाललाई एउटा पत्र, जसले तपाईको पनि मन छुन्छ (पढ्नुहोस्)
शर्मिला खड्का
नवराज सर तपाईंको कथा म लेख्छु । तपार्इंले फेसवुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कस्ले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ ।
तपाईँको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे सानो आँखीझ्यालले देखेको कुरा लेख्दै छु ।
यो कथा सुरु हुन्छ झन्डै १०–१२ वर्षअघि । त्यसबेला माओवादी जनयुद्धको मैदानमा थिए । त्यससमय तपाईंको एउटा कथा साझा प्रकाशनद्वारा प्रकाशित गरिमामा छापिएको थियो । म पनि त्यस समय साहित्यिक साधाना र अध्ययनमा युद्धस्तरमा लागेकी थिएँ ।
तपाईंले देशप्रेमको भावाना ‘कारगिलको युद्ध’ कथामार्फत् सशक्त पाराले देखाउनु भएको थियो । तपाईंले पात्रमार्फत देखाउनु भएको देशप्रेमको भावनाले म अति प्रभावित भएँ । त्यस पात्रलाई जीवित बनाउन मैले अर्को कथा विनिमार्ण गरी लेखे । यसरी तपाईंसँग छोटो साहित्यिक सम्बन्ध गाँसिएको थियो ।
तपाईंको विषयमा मलाई खासै केही ज्ञान थिएन । एउटा कथाकार र नेपाल प्रहरीको अधिकृत भन्ने मात्र थाहा थियो । एकपल्ट एउटा साहित्यिक कार्यक्रममा हाम्रो सानो भेट भयो । त्यस सानो भेटमा उही कथाको विषयमा छोटो चर्चा भयो ।
म मेरो १७ वर्षे जागिर छोडेर तन्मयका साथ काठमाडौमा आएर साहित्यिक क्षेत्र लागि परेँ । विभिन्न देशको समाचार र नेपालको राजनीति र सामाजिक घटनाहरू थाहा पाउने क्रममा थाहा भयो तपाईं नेपाल प्रहरीको प्रतिभावान, कर्मठ, निडर र नैतिकवान अधिकृत हुनुहुँदो रहेछ ।
मैले थाहा पाउँदै गए तपाईं डिआइजी भएर मेरो जन्मथलो पुर्वाञ्चलको प्रमुख भएर जानुभएको छ भनेर । तपाईं त्यहाँ जानु भएपछि त्यहाँ प्रहरी सेवालाई लोकप्रिय र सफल बनाउन तपाईंले खेल्नु भएको भूमिकाहरू म समाचारहरूमा पढ्न थालेँ । हुन त मैले थाहा पाएभन्दा धेरै राम्रा कामहरू तपाईंले त्यहाँ गरेको हुनसक्छ । तर मैले थाहा पाएको कुराले म कति खुसी थिएँ ।
तपाईंले टोलटोलमा सुरक्षाको लागि राती प्रहरी परिचालन गर्ने नियम बनाउनु भएको थियो । प्रत्येक महिना इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान गर्ने प्रचलन चलाउनुभयो । भष्टाचारी, घुसखोरी र नैतिकहिन प्रहरीलाई दण्डित गर्ने चलन चलाउनुभयो ।
त्यो भन्दा खुसीको कुरा मलाई केमा लागेको थियो भने मेरो जन्मभूमि धरानमा र कर्मभूमि इटहरीमा धेरै युवाहरू लागू पदार्थका दुव्र्यसनी थिए । लागु पदार्थ ओसारपसारलाई रोक्न तपाईंले ठूलो अभियान थाल्नुभयो । मेरो कर्मभूमि इटहरी एकताका यौनअखडाको दुर्गन्धित सहर भइसकेको थियो ।
यसको लागि तपाईंले ठूलो पहल गरेर जरैदेखि उखेल्नुभयो । त्यससमयताका यौन व्यापारमा मुछिएका तीन होटलका संचालकलाई जेल पुर्याइकन छोड्नुभयो । यी कुरा मैले समाचारमा पढेमात्र होइन आफ्नै आँखाले देखे अनि भोगे पनि ।
म एउटा संस्थामा काम गर्ने साना भाइबहिनीहरूको शिक्षिका थिएँ । त्यस बखत स्कुल जाँदा आउँदा राजमार्ग हुँदै जानुपर्दथ्यो । जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो तब राजमार्गको दुवैतिर भकाभकी होटल र गेस्टहाउस खोलिन थाले ।
म सोच्दथेँ यो मानवबस्ती भन्दा टाढा ठाउँमा कहाँका मानिस आएर खाना वा खाजा खाँदा हुन् । म त बालबालिकालाई नैतिक ज्ञान दिने, आर्दशका कुरा सिकाउने, इश्वरीय ज्ञान दिने साधारण शिक्षिका थिएँ ।
यस्ता समाजमा बाहिर हुने कतिपय अनैतिक कामहरू मलाई पटक्कै थाहा थिएन । मैले पनि जागिरमा कर्मठ र इमान्दार भएर लाग्दा तपाईंको जस्तो भोगाई भोग्न पर्यो ।
मैले पनि जागिरबाट तिलाञ्जलि दिएर कलमको सहारा लिन पुगेँ । जब म बाहिरी संसार आए तब मलाई हाम्रो समाजमा खेलिने अनेकौँ फोहरी र दुर्गन्धित खेल बारे थाहा हुँदै गयो । ती राजमार्गमा खोलिएका होटल र गेष्टहाउसका रहस्य थाहा हुँदै गयो ।
हाम्रो काका, मामा, दाजु आफन्त तीनै होटलमा गएर गणतन्त्रले थाम्न नसक्ने यौवनाहरूको यौवनमा आफ्ना भएभरका सम्पत्ति लुटाउँदा रहेछन् ।
छोराछोरी पढाउने फिस, खुवाउने औषधि, दुध, फलफूल त तिनै होटलमा लुटिदा रहेछन् । घरमा श्रीमान श्रीमतीको झगडा किन हुन्छ भन्दा तिनै होटल र गेष्टहाउस रहेछन् ।
विदेश जाने हजारौ युवाहरूको पसिनाले पो त्यो होटलहरू मोटाउँदै गएका रहेछन भन्ने कुरा मैले बल्ल बुझ्न थाले । पछि जब म इटहरी गए ती राजमार्गका होटल र गेष्टहाउसहरू सबै बन्द गरिएको पाएँ ।
मलाई कति खुसी लाग्यो । यो तपाईलें लेखनमा लेखिएको आर्दश र राष्ट्रप्रेमले भरिएको कथा मात्र थिएन । यो त व्यवहारमा अवतरण गरिएको कथा थियो ।
ती निर्दोष बालबालिकाको आत्माले तपाईंलाई कति धेरै आर्शीवाद दिए होलान् । जसका बुवाहरू ती भट्टीमा समय र पैसा सकेर आएर आमाहरूलाई चुट्दथे । जुन कुरा मैले मेरो आँखाले देखेकी थिएँ । एउटा सभ्य र सुसस्कृत समाजमा विकृतिको रूपमा फैलिएको यस्ता कुकृत्यलाई तपाईंले कति सजिलै निरुपण गर्नुभएको थियो ।
गर्दा हुने रहेछ अन्य अधिकृतहरूले किन नगरेका होलान् ? उनीहरूलाई महिनावारी र हप्तावारी बुझ्दा नै भ्याई नभ्याई थियो होला । तपाईं प्रहरी सेवालाई नै समाजमा लोकप्रिय र प्रशंसा गर्न लायक बनाउन तन्मय साथ लाग्नु भएको थियो ।
तपाईंको पोस्टिङ पूर्वाञ्चलबाट काठमाडौँ भयो । काठमाडौँ आएर पनि तपाईंले नक्कली सर्टिफिकेटवालाको निद हराम गर्नुभयो । निदहराम मात्र होइन यसरी नक्कली सर्टिफिकेटमा डाक्टरजस्तो सम्मानित जागिर खानेहरूलाई ठूलो धक्का दिनुभयो ।
यो तपाईंको अर्को ऐतिहासिक विजय थियो । त्यस्तै दुवईबाट आउँदै गरेको ३३ किलो सुन तपाईंको कमान्डले समाएर अर्को लोकप्रिय र जनताले गर्व गर्ने काम गर्नुभयो ।
यसरी अपराधीहरूलाई दण्डदिने र समाउने क्रममा तपाईंले कति धम्कि र त्रास खेप्नु पर्यो होला । जीन्दगी नै तरवारको धारमा राखेर हिँड्नु पर्यो होला ।
आर्दश खोक्ने मानिस यो समाजमा मैले धेरै देखेको छु तर व्यवहारमा ल्याउने चाहिँ कमै देखेको छु । किन कि आर्दश र सत्य अति कडा हुन्छ यो पचाउन मानिसलाई हम्मे पर्छ । अनि समाजमा मानिसलाई बाँच्नै गाहो हुन्छ । हामीले हाम्रो प्रतिष्ठानबाट तपाईको समाजप्रतिको निष्ठा, योगदानको कदर गर्दै पुरस्कृत पनि गरेका थियौ ।
तपाईं एउटा बेग्लै विचार, धार र स्वाभिमान बोकेर आउनुभयो जुन कुरा तपाईंको संस्थाका मान्छेले नै पचाउन सकेनन् । किन कि उनीहरूलाई थाहा छ योे सत्यसँग खेल्ने उनीहरू सँग औकात नै छैन ।
कुशासनमा रमाउनेहरू कतिपय तपाईंका विरोधी भए अनि साँच्चै तपाईंमाथि राजनीति भयो । तपाईंको सत्य विरुद्धमा अरू महिषासुर लागे । तर तपाईं डराउनु भएन । अन्याय गर्नुभन्दा अन्याय सहनु अपराध हो भनेर तपाई न्यायको खोजिमा लाग्नुभयो ।
तर पनि तपाईं झन प्रताडित गर्न महिषासुरहरू कम्मर कसेर लागे । यसरी महिषासुरहरू तपाईंका पछि हात धोेएर लाग्नुका पछाडि तपाईंका केही व्यक्तिगत कमजोरीहरू थिए ।
ती कमजोरी निम्न छन्
हाम्रो समाज यस्तो एउटा छट्टु कथाबाट सुरु हुन्छ । एकपल्ट महादेवले गणेश र कुमारलाई जो पहिला पृथ्वी परिक्रमा गरेर आउँछ उही सर्वेश्रेष्ठ हुन्छ भनेर भन्नुभयो ।
बाठा र छट्टु गणेशले बुद्धि खियाए र महादेव पार्वतीको परिक्रमा गरी महादेवलाई खुसी बनाए । सोझा कुमार इमान्दारका साथ सुमेर घुम्न निक्ले । यस्तै कथाले हाम्रो समाजमा स्तुतिबाज र चाकडीबाजको एउटा ठूलो वृक्ष जरा गाडेर बस्यो ।
ठूलाबडाहरू आफूलाई भगवानसरह ठान्ने र हरदम शक्तिको चाकडी र आरती खोज्ने तर तपाईंले यसको विपरित एउटा आत्मालाई भगवान ठान्नुभयो अनि आत्माको पूजा र सम्मान गर्नुभयो । कहिल्यै आत्मालाई ढाट्ने, छल्ने गर्नुभएन किन की आत्माले स्तुतिगान र चाकडीबाज होइन इमान्दारिता, लगनशीलता र प्रतिभालाई प्रमुख ठान्दछ ।
तपाईंको अर्को कमजोरी भनेको धनसम्पत्ति ऐश्वर्यलाई भन्दा ज्ञान, सीप, प्रतिभालाई महत्व दिनु हो । धनसम्पत्ति ऐेश्वर्यको माया गर्नुभएको भए अरू भोकाएका सिंहलाई आहारा खुवाउन सक्नुहन्थ्यो अनि तपाईंसँग उनीहरू खुसी हुन्थे । तर तपाईंले त्यसो पटक्कै गर्नुभएन ।
तपाईंको अर्को कमजोरी भनेको अन्यायको विरुद्ध लड्नु भयो । हिजो तपाईंजस्तै अन्यायमा परेकाहरू चुपचाप आफ्नो भाग्यलाई धिक्कार्दै बसेका छन् । तर तपाईंले अन्यायका विरुद्ध आवाज उठाउनुभयो ।
अन्याय गर्नुभन्दा अन्याय सहनु ठूलो अपराध ठान्नुभयो । हिजो अपराधको लागि आफ्नो जिन्दगी नै दाउमा लगाएर हिँड्नु भएको तपाईंले यो अपराध स्वीकार्नु भएन ।
तपाईंको अर्को कमजोरी भनेको शक्तिशाली व्यक्तिको दाहिने हुन सक्नु भएन । तपाईंले शक्तिलाई पूजा गर्न जुनसुकै परिस्थितिमा पनि छेपारोले जस्तो रङ्ग फेर्न सक्नुभएन । यो पनि एउटा कला हो । यो कला तपाईंले जीवनको रगमञ्चमा कही कतै सिक्नुभएन ।
तपाईंका यी कमजोरीका कारण तपाईंमाथि राजनीति भयो । त्यसैले तपाईं राजनीतिमा लाग्नु भयो । तर त्यहाँ तपाईं कसरी टिक्नु हुन्छ ? कसरी आफ्नो अनुकुल बनाउनु हुन्छ ? राजनीतिमा माथि अर्को राजनीति नहोला भन्न सकिन्न ।
नेपालको राजनीति भनेको मलाई ठूलाठूला साढेहरू हिलोमा शक्तिका लागि लडिरहेको जस्तो लाग्छ । तपाईं कसरी बुझ्नु हुन्छ ? कसरी यसलाई आफू अनुकुल बनाउनु होला समयले बताउला ।
हुन त तपाईंसँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध छैन । म कुनै पार्टीमा आबद्ध पनि छैन । विगतमा महाभूकम्पले थिलथिलो पारेको काठमाडौँलाई भारतले नाकाबन्दी गरेर जुन तनाव दियो त्यस तनावलाई राजनेता केपी ओलीज्यूले जुन साहसका साथ किनारा लगाउनुभयो त्यसपछि नेकपा एमालेप्रति मेरो विश्वास र आस्था बढेको छ । तपाईंले एमाले प्रवेश गरेको समाचार पढेर मलाई खुसी लाग्यो ।
किन कि मजस्ता धेरै जनतालाई अब एमाले नै देशलाई सही दिशामा लैजान्छ भन्ने विश्वास जागेको छ । काग्रेस सरकारले गरेका धेरै गल्तीको कारण नै जनताको प्रिय पार्टी एमाले भएको छ । अझ माओवादीसँग मिलेर एमालेले जुन गठबन्धन बनाएको छ यो गठबन्धनले देशलाई अझ समृद्धितिर लैजान्छ भन्ने जनतामा आशा पलाएको छ ।
हुन त राजनीतिलाई शौचालय र साहित्यलाई भोजनालय भन्ने गरिन्छ । तर तपाईंले ममाथि राजनीति भयो त्यसैले म राजनीतिमा लागेको भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यसले लाग्छ तपाईंभित्रको देशप्रेम भावना अझ सुदृढ भएर जागेको छ ।
नेपालका राजनीति पार्टीले नेपालीलाई खासै खुसी र सन्तुष्टि दिन सकेनन बरु उल्टै वितृष्णा, वेरोजगार र अभाव मात्र दियो जसले गर्दा ६० लाख नेपाली युवाहरू घरपरिवारबाट टाढा खाडीको तातो हावा खान बाध्य भएका छन् ।
धेरै प्रतिभावान युवाहरु विदेश पलायन हुन बाध्य भए । हाल आएर वामघटक एक भएको देख्दा अब चाहि देशमा शान्ति सुविस्ता र स्थिरता आउँछ कि भन्ने हामीजस्तो सर्वसाधारण जनतालाई आशा जागेको छ ।
यस गठबन्धनले नेपालको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । भनौ एकप्रकारको भुकम्प आएको छ । कतै यो भुकम्प सत्यको त्यही सानो झिल्कोले ल्याएको होइन भनेर अनुमान पनि लगाउन सकिन्छ । मैले धेरै अघि भनेकी थिएँ । सत्यको एउटा सानो झिल्कोले संसार खरानी बनाउन सक्छ । किन की मैले यो कुरा भोगेकी छु । आज त्यही झिल्को डढेलो बनेर असत्यका धर्मभिरुहरूको मन डढाइरहेको छ ।
तपाईंको स्वाभिमान, निष्ठा र आर्दश पार्टीमा अझ बलियो भएर जानेछ र पार्टीलाई सही दिशामा मार्गदर्शन गर्नुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु तर राजनीति आफैमा चुनौतिपूर्ण र फोहरी हुन्छ यसलाई तपाईं आफ्ना पवित्र भावनाले सुद्धिकरण गर्दै अघि बढनु हुनेछ भन्ने मेरो आशा र विश्वास छ ।
प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलबार