खोटाङमा विशाल भट्टराई र सरस्वती बजिमयको अवस्था कस्तो छ ? (मत विश्लेषण सहित)


 


खोटाङ, कात्तिक १४
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर १ को उच्च पहाडी जिल्ला हो खोटाङ । जसका लागि यही ५ गते उमेदवारी दिएर दलहरू प्रचारमा जुटिसकेका छन् ।

खोटाङबाट बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई अघि सरेका छन् । युवा नेता र प्रखर वक्ताका रुपमा परिचित उनको विपक्षमा कांग्रेले सरस्वती बजिमयलाई अघि सारेको छ ।

बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका भट्टराई यसअघि दुई क्षेत्र रहेको खोटाङको क्षेत्र नं २ बाट २०७० सालमा सभासदमा निर्वाचित भएका थिए ।

खोटाङको विगत

बहुदल स्थापनापछिको पहिलो आम निर्वाचनदेखि दुई क्षेत्र रहँदै आएको खोटाङ अहिले एउटा क्षेत्रमा सिमित भएको छ । सोही समयदेखिको निर्वाचन नतिजालाई हेर्दा एमालेका टंक राई र कुलप्रसाद शर्मा २०४८ मा विजयी भएका थिए ।

त्यस्तै, २०५१ को निर्वाचनमा पनि एमालेकै टंक राई र अशोककुमार राई विजयी भएकोमा २०५६ को निर्वाचनमा भने कांग्रेसका सर्वधन राई र शिवकुमार बस्नेतले बाजी मारे ।

पहिलो संविधानसभा निर्वाचनमा देशभर जस्तै माओवादीको लहर आयो र दुबै क्षेत्रमा उक्त पार्टीका उमेदवारहरु क्रमशः रामकुमार राई र समिता कार्की विजयी भइन् ।

२०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट एमालेका पाँच कर्ण राई निर्वाचित भएका थियो भने क्षेत्र २ बाट अहिले पनि बाम गठबन्धनको तर्फबाट उमेदवार रहेका विशाल भट्टराई विजयी भएका थिए ।

स्थानीय तह नतिजा

अहिलेको ताजा जनआधारका रुपमा लिन सकिने स्थानीय तहको असार १४ मा भएको परिणमलाई लिन सकिन्छ । जसअनुसार एमाले तुलनात्मक रुपमा बलियो देखिएको छ ।

यद्यपी एकल प्रतिस्पर्धामा रहँदा कांग्रेससँगको प्रतिस्पर्धा रोचक हुने भएपनि माओवादीसँगको गठबन्धन हुँदा पूर्वसांसद भट्टराईलाई आफ्नो साख जोगाउन सहज देखिएको छ ।

प्रतिनिधिसभामा यस्तो छ हिसाब

खोटाङमा एमाले २४ हजार ८८७ मत र माओवादी १६ हजार ५६९ गरी बाम गठबन्धनको पक्षमा ४१ हजार ४५६ मत रहेको छ ।

यता कांग्रेसको पक्षमा २२ हजार ७६८ मत छ भने कांग्रेससँग तालमेल गरेको तर केही ठाउँमा उमेदवारका कारणले विच्किएको राप्रपाको पक्षमा १ हजार ०४६ मत रहेको छ ।

प्रदेश सभा १ 

खोटाङ प्रदेश १ मा ऐसेलुखर्क गाउँपालिका, केपिलागढी गाउँपालिका, रूपाकोट मझुवागढी नगरपालिका, वडा १,२,३,१०,११,१२,१३,१४,१५, लामिडाँडा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका पर्दछन् ।

प्रदेशसभाका लागि यो क्षेत्रबाट एमालेका राजन राई बाम गठबन्धनबाट र कांग्रेसबाट सुभाषकुमार पोखरेल उमेदवार बनेका छन् ।

यो प्रदेशमा एमाले र माओवादीको बाम गठबन्धनको पक्षमा १९ हजार ९४० मत छ भने कांग्रेस र राप्रपाको मत १४ हजार १४८ मत रहेको छ ।

कसको कति मत ?

एमाले १२,४१५
माओवादी  ७,५२५
कांग्रेसः १३,१४९
राप्रपा  ९९९

प्रदेश क्षेत्र २ 

क्षेत्र नं २ मा रुपाकोट मझुवागढी नरपालिकाको वडा नं ४,५,६,७,८,९ नम्बर वडा, साकेला गाउँपालिका, दिप्रुङ गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका रहेका छन् ।

यता क्षेत्र प्रदेश क्षेत्र नं २ मा बाम गठबन्धनबाट माओवादीका रामकुमार राई उमेदवार बनेका छन् भने कांग्रेसबाट विष्णुकुमार राईले उमेदवारी दिएका छन् ।

यो क्षेत्रमा एमाले माओवादीको पक्षमा १३ हजार २४७ मत रहेको छ भने कांग्रेसका पक्षमा ६ हजार ३०५ रहेको छ ।

कसको कति मत ?

एमाले  ७९८२
माओवादी  ५२६५
कांग्रेस ६०४४
राप्रपा २६१

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्