गुल्मी माइक्रो दुर्घटना : ९ जनाको मृत्यु, ८ घाइते (अपडेट)


 


अर्घाखाँची, कात्तिक १३
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेपनि बीचमा यात्रु थपेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।

गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ । सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो ।

गाडीको तीव्रगति र गाडीलाई साइड दिनेक्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार साइड दिने बोलेरो जिप सडकको नालीमा रहेको बताए । दुर्घटनास्थलमा ठूलो भिर र साँघुरो बाटो रहेको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्