हिरोशिमामा भएको परमाणु बम हमलाको ७०‌ वर्ष


 


aadabikहिरोशिमामा भएको परमाणु बम हमलाको ७०‌औं वर्ष स्मरण समारोहमा सम्बोधन गर्दै जापानी प्रधानमन्त्री शिन्जो आबेले हिरोशिमाको सम्झनाले सबैलाई निशस्त्रीकरणको लागि काम गर्न प्रेरित गरेको बताएका छन् ।

जापानभर मानिसहरुले हिरोशिमामा परमाणु बम हमला भएको ७० औं वर्षगाँठको अवसरमा एक मिनेट मौनधारण गरेका थिए। प्रधानमन्त्री आबेले विश्व शान्तिका लागि सारा विश्व आणविक हतियार रहित बनाउन निरन्तर प्रयत्नरत रहनु जिम्मेवारी र दायित्व दुवै भएको बताएका छन्।

बिहिबारको औपचारिक संस्मरण समारोहमा प्रधानमन्त्री शिन्जो आबे र हिरोशिमाका मेयर काजुमी माटुसी सँगै जापानका लागि अमेरिकि राजदुत क्यारोलाइन केनेडी उपस्थित थिए।

कामना

प्रधानमन्त्री आबेले भने, “७० वर्षपछि म विश्व शान्तिको आवश्कतामा पुन: जोड दिन चाहन्छु। विश्व आणविक अस्त्ररहित होस् भन्ने लक्ष्यप्राप्ती गर्न हामी निरन्तर लागिरहनु पर्छ, त्यो हाम्रो जिम्मेवारी हो, हाम्रो दायित्व हो।”

उनले भने आणविक बमले हिरोशिमामा हजारौं हजार मानिस मारेको मात्र होइन जिवितहरुमा व्यक्त गर्नै नसकिने पीडा दिएको थियो।प्रधानमन्त्रीले भने, “आज हिरोशिमा पुनर्जीवित भएको छ, संस्कृति र उन्नतिको शहर बनेको छ।”

हिरोशिमामा स्थानीय समय अनुसार आठ बजेर पन्ध्र मिनेट जाँदा घन्टी बजाइएको थियो। ठिक त्यहि समयमा सन् १९४५को अगष्ट ६ तारिकमा एक अमेरिकी विमानले बम खसाल्दा शहरुको मध्य भाग जलेर ध्वस्त भएको थियो।

समारोहमा मौन प्रार्थना गरियो परेवा उडाइयो र शान्ति घोषणा गरियो। आजै केहि पछि बम लागेर निधन भएकाहरुको मरणोपरान्त यात्राका लागि भन्दै हजारौं कागजका लालटिनहरु मोटोयसु नदीमा बगाउने कार्यक्रम छ।

विनाश

हिरोसिमामा आज कै दिन इतिहाँसको पहिलो परमाणु बम हमला थियो जस्मा परि ७०,००० मानिसको तत्कालै मृत्यु भएको थियो। पछि त्यति नै संख्यामा मानिसहरु विकिरणको र विषको प्रभावका कारण मारिएका थिए।

त्यो बम विष्फोटनपछि ४,००० डिग्री सेल्सियस राप भएको आगोको पर्खाल बनेको बताइन्छ। त्यतिबेला इमिको यामानाका आठ वर्षकी थिइन्। “त्यो एकदमै उज्यालो प्रकाश थियो, मलाई लाग्यो सूर्य नै झरिरहेको छ।

एकैछिनमा हावामा ठूलो विष्फोटन भयो। मैंले त सासै फेर्न सकिन। मानिसहरु दौडी रहेका थिए र आफ्नो जलेको छाला च्यातिरहेका थिए।”

त्यस दिन इनोला गे भनिएको अमेरिकी बी-२९ बम्बर विमानले खसालेको युरेनियम बम शहरको छ सय मीटर माथि आकाशमा विस्फोटन भएको थियो।

हिरोशिमामा बम हमलाको केही दिन पछि नागाशाकीमा दोस्रो परमाणु बम हमला भएको थियो। नागासाकी आक्रमणलाई दोश्रो विश्व युद्ध अन्त्य गर्ने घटनाको रुपमा श्रेय दिइन्छ, तर त्यसले कम्तिमा १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो।

bbcnepali बाट

प्रकाशित मिति: २१ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्