सोमबारसम्म सबै क्षेत्रको बाम एकताले उम्मेदवारी टुंगो लगाउने


 


काठमाडौँ,  कात्तिक १२

नेकपा ( एमाले ) र नेकपा (माओवादी केन्द्र)ले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् ।
आज बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल गर्ने निर्णय गरेको हो ।

दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको बताउनुभयो । उहाँले आज प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताउनुभयो ।
समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन आज दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए । नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन । उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी रहेको छ ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागेको र प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको विषयमा छलफल जारी रहेको र आजै राति अबेरसम्म टुंगो लाग्ने जानकारी दिनुभयो ।

आज राति १२ बजेसम्म समानुपातिकतर्फका सबै उम्मेदवारको अन्तिम नाम आयोगमा बुझाइसक्नुपर्ने कार्यतालिका रहेको छ ।रासस

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्