आफ्नो यौनकाण्ड लुकाउन दिदिले गरीन आफ्नै भाइको हत्या


 


लहान,  कात्तिक १२

करिब एक साताअघि हत्या गरी नर्सरीमा फ्याँकिएका सिरहाको कर्जन्हा नगरपालिका २ का १३ वर्षीय भवेश यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत कात्तिक ३ गते स्थानीयवासी कुसुमलाल यादवको १३ वर्षीय छोरा भवेशको हत्या गरिएको आरोपमा प्रहरीले भवेशका आफ्नै काकाकी १६ वर्षीया छोरी प्रियंका यादव र स्थानीयवासी १४ वर्षीय सञ्जय साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्या घटनामा संलग्न रहेको आरोपमा परेका प्रियंका र सञ्जयलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

आफू र प्रेमीबीच भएको यौनकाण्ड लुकाउन प्रियंका यादवले प्रेमी सञ्जयसँग मिलेर आफ्नै ठूलो बुबाको छोरा भवेशको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो ।  भैँसी चराउन गएको बेलामा प्रियंका र सञ्जयलाई आपत्तिजनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि दुवैजनाले भवेशको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बज्राचार्यको भनाइ छ ।


गत कात्तिक ३ गतेबाटै घरबाट हराइरहेको भवेशको शव घरनजिकैको सिसमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा गत कात्तिक ५ गते साँझ फेला परेको थियो ।

प्रियंकाले नै साथीसँग भैँसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौनकाण्ड सार्वजनिक नगर्न अनुरोध गर्दा भवेशले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

योजनाअनुरुप नै भवेशसँग समेत अति मिल्ने र चार कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौँ तिमीलाई पनि दिन्छौँ भन्दै घर नजिकैको नर्सरीमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौँ, यही छ भनी भवेशलाई खन्न लगाएर भवेशको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लास नचिनियोस् भनेर आफूहरुले जीउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउँ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले सञ्जयकै बयानका आधारमा स्केच फोटो बनाएको महानगरीय अपराध महाशाखाबाट आएका प्रहरीको टोलीले अनुसन्धान गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानकै क्रममा सञ्जयपछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको बज्राचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्