नेपालमा लागुऔषध प्रयोगकर्ताको डरलाग्दो तथ्याँक सार्वजनिक


 


काठमाडौँ,  कात्तिक १२

नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ ।

कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् ।

विभागका महानिर्देशक कृष्णप्रसाद घिमिरेले १८ हजार ३३६ कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारी रहेको जानकारी दिनुभयो । “पछिल्लो समय अवैधरुपमा लागुऔषध कारोबार गर्ने र कारागार जीवन बिताउने कैदीबन्दीको संख्या बढ्दो छ”– उहाँले भन्नुभयो ।
यस्तै, जबर्जस्ती करणीका तीन हजार २५५, कर्तव्य ज्यानका दुई हजार २४३, ज्यान मार्ने उद्योगका ५२७, अपहरणका ४६३ र ठगी मुद्दाका ४४० जनाले कारागार जीवन बिताइरहेका छन् ।

सरकारले लागुऔषध करणी, जीउ मास्ने, कारागारबाट भाग्ने, भ्रष्टाचारी, सरकारी कागजातको कीर्ते, यौन हिंसा, संगठित अपराध, संरक्षित वन्यजन्तुलगायतका २४ थरीका मुद्दामा आरोपितले तोकिएको समयसम्म कारागार जीवन बिताउनुपर्ने र त्योभन्दाबाहेकका घटनाका मुद्दामा ६० प्रतिशतसम्म कैद मिनाह गर्न सकिने व्यवस्था गरेको छ ।

भक्तपुर, सिरहा र धनुषामा कारागार छैन । कारगार भएका जिल्लामा एक हजार १७ जना विदेशी र एक हजार २९७ महिला कैदीबन्दी रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्