मतपत्र सम्बन्धी आयोगको निर्णय : प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापिने


 


काठमाडौँ,  कात्तिक १२

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई यसबारेको जानकारी सोमबार दिइने आयोगले जनाएको छ ।

आयोग स्रोतका अनुसार सर्वोच्चलाई बुझाउने मतपत्र छपाइको प्रगति विवरण तयार भइसकेको छ ।

यसअघि एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ ।
यसअघि प्रतिनिधिसभा र प्रदेशकाे प्रत्यक्षतर्फ एउटै सिटमा दुई मतपत्र तथा समानुपातिकको अर्को सिटमा दुई तहका लागि मतपत्र डिजाइन गरिएको थियो। एउटै सिटमा हुन नहुने भन्दै राजपाका नेता  सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । आयोगले चुनावको मिति भने हेरफेर नगर्ने भएको छ । पहिलो चरण मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते नै चुनाव गराउन प्रतिबद्ध रहेको आयोगले बताउँदै आएको छ । प्रत्यक्षतर्फ दुईवटा मतपत्र छाप्दा थप गर्नुपर्ने तयारी पनि आयोगले आइतबारबाटै थालेको छ । यसअघि आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार एउटै पानामा प्रत्यक्षतर्फको नमूना मतपत्र भने छापेको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्