गाउँमा प्राबिधिक नपुग्दा भुकम्प पिडित घर बनाउन बाट बञ्चित


 


रामपुर (पाल्पा), कात्तिक १२

निस्दी गाउँपालिका २ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ ।

भूकम्प गएको करिब तीन वर्षसम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।

प्राविधिकको सल्लाह नपाउँदा घर बनाउने कार्यमा अन्यौलता छाएको सहलकोटका स्थानीयबासिन्दा भुमबहादुर रानाले बताउनुभयो । “राहतबाट बनेको टहरो पनि पुरानो भएर भत्कन थालिसक्यो”, “सरकारले पहिलो किस्ता उपलब्ध त गराएको छ तर निर्माण शुरु गर्नका लागि प्राविधिकहरु गाउँमा अहिलेसम्म आइपुगेका छैनन” उहाँले भन्नुभयो ।


आफ्नै निर्णयले घर बनाएको भए अहिलेसम्म घर बनिसक्थ्यो, प्राबिधिकको कारणले घर बनाउन नपाएको उहाँले गुनासो गर्नुभयो ।

अर्का भूकम्पपीडित पूर्णबहादुर गाहालाई भूकम्पपछि बनाएको टहरो अहिले भत्किएपछि बासको पिरलो परेको छ । “जसोतसो बास बस्ने टहरो थियो, त्यही टहरो पनि भत्किएर छिमेको घरमा बस्नुपर्ने अवस्था आयो” उहाँले दुखेसो पोख्नुभयो । दुई दिनसम्म उहाँ टहरो भत्किएपछि छिमेकीको घरमा बास बस्नुभयो । अहिले भने भत्किएको त्यही टहरोलाई छिमेकीको सहयोगमा सामान्य मर्मत गरेर बास बस्दै आउनुभएको छ तर त्यो पनि कतिबेला भत्किन्छ भन्ने टुंगो छैन ।

तीन वर्षाद् र दुई हिउँको समय टहरामै जीवन बिताएका अधिकांश भूकम्प प्रभावितको समस्या उस्तै छ । अबको जाडोको समय कसरी बिताउने भन्नेमा पीडितहरु पिरोलिन थालेका छन् ।

सरकारले पुनःनिर्माणमा बेवास्ता गर्दा आफूहरुले अझै पनि टहरामै बास काट्नु परेको पीडितहरु बताउँछन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार पाल्पा जिल्लामा ४ हजार ६५२ घर पुनःनिर्माणका लागि छनौट भएका छन् । साविक सहलकोट गाविसका ३१५ घरमध्ये पछिल्लो तथ्याङ्कअनुसार १४६ घर पुनःनिर्माणका लागि छनौटमा परेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै ५० प्रतिशत पीडित घरपरिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण भइसकेको छ । तर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि कुनै कर्मचारी नखटाउँदा निर्माण कार्यले भने गति लिन सकेको छैन । रासस

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्