भोजपुरमा वाम गठबन्धन धेरै अगाडि, कसले मार्ला बाजी ? (वडा तहको मत विश्लेषण सहित)


 


ध्रुव सुवेदी
काठमाडौं, कात्तिक ११
मंसिर १० जति नजिकिदै छ, त्यति नै बढी राजनीतिक वातावरण रोमाञ्चक बन्दै जान थालेको छ । कात्तिकको पहिलो हप्तादेखी नै चिसो बढेपनि मंसिरको त्यो १० ले राजनीतिक गर्मी भने ह्वात्तै बढाइदिएको छ ।

अझ भनौ दुई ठूला प्रमुख दल एमाले र माओवादी केन्द्रको वाम गठबन्धले देशमा नयाँ तरंग त ल्याएको छ नै यसका अभयभहरु जिल्लातहसम्म पुगेका छन् । यो गठबन्धनले देशको दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई ठूलो धक्का दिने अनुमानहरु गर्न थालिएका छन् ।

किनभने देशको प्रमुख ठूलो दल एमाले र तेस्रो शक्ति माओवादीको यो गठबन्धनले कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने बताइदै आएको छ । यद्यपी यसको नतिजा भने १० मंसिर पछि थाहा हुनेछ । यदि साच्चै वाम गठबन्धनमा धोकाधढी नहुने हो र पछिल्ला समाचार र विश्लेषणलाई आधार मान्दा पहिलो चरणममा कांग्रेसले प्रतिनिधि सभामा एक सिट मात्र जित्ने बताइदै आएको छ ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा र प्रदेश सभाको एकैचोटी हुन लागेको यो निर्वाचनमा पूर्वि पहाडको भोजपुर जिल्लाको अवस्था कस्तो छ ? यहाँ भर्खरै सम्पन्न स्थानीय तहको मतलाई विश्लेषण गरेर हेर्ने कोशिस गरिएको छ । किनभने दलको हैसियत र जनमत केलाउन यो मत महत्वपूर्ण छ ।

भोजपुरमा प्रतिनिधि सभाका लागि एउटा र प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८१ वटा वडा रहेका छन् । भोजपुर यसअघि पनि वाम गठबन्धनकै वर्चस्वमा रहदै आएको जिल्ला हो ।

२०६४ बाहेकका हरेक निर्वाचनमा एमालेको कब्जामा भोजपुर छ भने २०६४ मा पनि वाम गठबन्धनकै माओवादीले कब्जा गरेको थियो । गत असारमा सम्पन्न भएको स्थानीय तहको मत परिणाम अनुसार भोजुरमा वाम गठबन्धन भारी मतले अगाडि देखिन्छन् ।

भोजपुरमा एमालेले चार, कांग्रेसले चार र माओावादी केन्द्रले एउटा स्थानीय तह जितेकोे थियो । कांग्रेसले चारवटा स्थानीय तहमा प्रमुख जिते पनि तीनवटामा उपप्रमुख सहित धेरै वडा गुमाएको छ । एमालेले चारवटामा प्रमुख जित्दा थप तीनवटा उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा उपप्रमुख गुमाएको थियो ।

त्यस्तै माओवादीले एउटामा प्रमुखसहित दुईवटा स्थानीय तहबाट उपप्रमुख जिताउन सफल रह्यो । कुल ८१ वडा रहेको भोजपुरमा एमालेले ३७ वडा जितेको छ । त्यस्तै कांग्रेसले २५, माओवादी केन्द्र १८ र संघीय समाजवादी फोरमले एउटा वडामा जित हात पारेको थियो ।

स्थानीय तहको प्रमुखलाई आएको मत अनुसार एमाले २५ हजार ६ सय ८५ कांग्रेस २० हजार ५६१, माओवादी १२ हजार ७६९, र फोरमले २९१६ मत पाएका छन् । तर स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख पदमा कतिपय तहमा कांग्रेस, माओवादी र फोरमबीच तालमेल भएको थियो ।

ट्याम्के मैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा कांग्रेस, माओवादी र फोरमको तालमेल थियो भने साल्पा सिलिछो गाउँपालिकामा कांग्रेस र फोरमबीच तालमेल थियो । यहाँ भोजपुरमा रहेको चारवटा दल एमाले, कांग्रेस, माओवादी र फोरमले वडा तहमा ल्याएको मतका आधारमा विश्लेषण गरिएको छ ।

भोजपुरको क्षेत्र नं १ मा ४० वटा वडा रहेका छन् भने २ मा ४१ वटा वडा छन् । यसरी वडा तहसम्मको मत अनुसार एमालेले २५ हजार १२९ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं १ मा १२ हजार ५८३ र २ मा १२ हजार ५४६ मत छ ।

त्यस्तै कांग्रेसले २० हजार ६५३ मत ल्याएको छ । क्षेत्र १ मा १२ हजार ४७९ र क्षेत्र २ मा ८ हजार १७४ मत प्राप्त गरेको तथ्यांकमा देखिन्छ । माओवादीले १४ हजार ८९२ मत प्राप्त गर्दा क्षेत्र १ बाट ६ हजार २६४ र २ बाट ८ हजार ६२८ मत देखिन्छ ।

प्रमुख पदमा करिब ३ हजार मत ल्याएको फोरमले भने वडा तहसम्मको मत जोडेर हेर्दा निकै न्युन देखिन्छ । फोरमले वडातहको मतमा क्षेत्र नं १ बाट ९ सय र क्षेत्र नं २ बाट ३५२ मत प्राप्त गरेको देखिन्छ ।

अन्य दलको मत संख्या तीन अंक कटाउन सकेको देखिदैन । संयोग भनौ भोजपुरमा रहेका यी चार दल दुई गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् । एमाले र माओवादी वाम गठबन्धनबाट चुनाव लड्दैछन् भने कांग्रेस र फोरम कांग्रेस गठबन्धनबाट भिड्दैछन् ।

उल्लेखित मतपरिणामलाई हेर्दा वाम गठबन्धनको सामना गर्न कांग्रेस गठबन्धनलाई फलामको चिउरा चपाउनु सरह हुनेछ । किनभने वाम गठबन्धनको मतपरिणाम जोड्दा कुल योगफल ४० हजार २१ आउँछ भने कांग्रेस गठबन्धनसँग मात्र २१ हजार ९०५ मत छ । यसको मत अन्तर भनेको १८ हजार ११६ हो ।

यति धेरै संख्यामा रहेको मतान्तरले कांग्रेस गठबन्धनलाई धेरै कठिन पार्नेमा कुनै संकोच छैन् । यद्यपी उम्मेदवारको व्यक्तिगत प्रभावले पनि केही फेरबदल हुन सक्छ । तर, यो खाडल पुर्न भने निकै मुस्किल हुने देखिन्छ ।

क्षेत्र नं १

क्षेत्र नं १ मा षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका, अरुण गाउँपालिका भोजपुर नगरपालिकाको १ देखि ५ नम्बर वडा र १० नम्बर वडा, ट्याम्के मैयुङ गाउँपालिकाको १ देखि ५ नम्बर वडा र पौवादुङ्मा गाउँपालिकाको १ र २ नम्बर वडा पर्दछन् ।

क्षेत्र नं १ मा एमालेले १८ वडा जितेको छ भने कुल १२ हजार ५८३ मत ल्याएको छ । त्यस्तै कांग्रेसले १७ वडा सहित १२ हजार ४७९ मत ल्याएको तथ्यांकले देखाउँछ । माओवादीले ४ वडा सहित ६ हजार २६४ मत र फोरमले एउटा वडा सहित ९ सय मत ल्याएको देखिन्छ ।

साल्पा सिलिछो गाउँपालिका

६ वटा वडा रहेको यो गाँउपालिका प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको गाउँपालिका हो । यहा कांग्रेसले तीन वटा वडा जितेको छ भने एमाले दुई र माओवादीले एउटा वडा जितेका छन् ।

यहाँ स्थानीय तहको निर्वाचनमा कांग्रेस र फोरमबीच तालमेल भएको थियो । त्यसैले यहाँ कांग्रेसको मत बढी देखिन्छ । यहाँ कांग्रेसले १७१८, एमालेले १६७५ र माओवादीले १०७२ मत ल्याएका थिए ।

अरुण गाउँपालिका

अरुण गाउँपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको क्षेत्र हो । सात वटा वडा रहेको यहाँ ६ वटा कांग्रेस र एउटा माओवादीले जितेको छन् । दुई वडा सदस्य बाहेक एमाले सून्य भएको गाउँपालिका यही हो ।

यद्यपी मतमा भने एमालेले कांग्रेसलाई पछ्याएको देखिन्छ । कांग्रेसले २७३१ मत, एमालेले २११७ र माओवादीले १४९८ मत प्राप्त गरेका थिए ।

षडानन्द नगरपालिका

यो नगरपालिकाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको नगरपालिका हो । १४ वडा रहेको यहाँ ९ वडा एमालेले जित्दा कांग्रेस ४ र माओवादीले एउटा मात्र वडामा चित्त बुझाउनु परेको थियो ।

एमालेले प्रमुख हारे पनि यहाँ वडा तहको मतका आधारमा एमाले नै बलियो पार्टी देखिन्छ । एमालेले ४७१७ मत प्राप्त गरेको छ भने कांग्रेसले ४४५९ र माओवादीले १०७२ मत प्राप्त गरेको छ ।

पौवादुङ्मा गाउँपालिका (वडा नं १ र २)

यहाँका दुई वडामा कांग्रेस र एमालेले एक एक वडा जितेको थिए । १ कांग्रेस र २ एमालेले जितेका हुन् । रमाइलो के भने २ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार फोरमका नेता थिए, उनले एमालेको चुनाव चिन्ह लिएर चुनाव जितेका हुन् । यहाँ कांग्रेसले ६९५, एमालेले ५६८ र माओवादीले ४५६ मत ल्याएका थिए ।

भोजुर नगरपालिका (१ देखि ५ र १० नम्बर वडा)

यहाँका ६ वटा वडामा कांग्रेसले तीनm एमाले दुई र माओवादीले एउटा वडा जितेको देखिन्छ । कांग्रेसले २१९६, एमालेले २०९५ र माओवादीले ६८२ मत प्राप्त गरेको थियो ।

ट्याम्के मैयुङ गाउँपालिका (१देखी ५ नम्बर वडा)

यहाँका पाँच वडा क्षेत्र नं १ मा पर्दछ भने चार वटा वडा एमाले र एउटा वडा फोरमले जितेको थियो । यहाँ एमालेले १४११, कांग्रेसले ६८०, फोरमले ६६८ र माओवादीले ४४२ मत वडा तहमा ल्याएको देखिन्छ ।

क्षेत्र नं १ को प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनबाट एमाले केन्द्रिय सदस्य राजेन्द्र राई र कांग्रेस गठबन्धनबाट संघीय समाजवादी फोरमका सचिव अजम्बर राई काङमाङबीच प्रतिस्पर्धा हुँदैछ ।

उल्लेखित तथ्यांकले राजेन्द्रको सामना गर्न अजम्बरलाई निकै कठिन हुने देखिन्छ । किनभने वडा तहमा फोरमले तीन अंक कटाउन सकेको छैन भने राजेन्द्रसँग १२ हजार बढी मत छ ।

तर यहाँ काङमाङको व्यक्तिगत प्रभाव भने कायमै छ । २०७० को चुनावमा माओवादीलाई समेत पछाडी धकेलेर काङमाङमले ४०६६ मत ल्याएका थिए । राजेन्द्रलाई के सुविधा छ भने माओवादीको पुरै भोट उनको गठबन्धनसँग सुरक्षित छ ।

र, राजेन्द्रको पक्षमा माओवादीको ६२६४ मत सहित १८ हजार ८४७ मत देखिन्छ । कांग्रेसको पुरै भरमा रहेका काङमाङका लागि कांग्रेसको १२ हजार ४७९ मत छ भने उनको पार्टीको ९ सय गरेर जम्मा १३ हजार ३७९ मत हुन्छ ।

राजेन्द्र र अजम्बरको मतको अन्तर भने ५४६८ हुन आउँछ । यो मत काङमाङका लागि निकै भारी पर्न सक्छ । यहाँ राजेन्द्र र अजम्बरबीच रोचक प्रतिस्पर्धा हुने बताइदै आएको छ ।

किनभने दुबै हेभिवेट उम्मेदवार हुन् । राजेन्द्र अखिलको दुईपटकसम्म अध्यक्ष भएर हाल एमाले केन्द्रिय सदस्यको हैसियतमा छने भने अजम्बर एमालेको तत्कालिन प्ररायुसंघको अध्यक्ष हुँदै एमाले बैकल्पिक केन्द्रिय सदस्य हुँदा पार्टी छाडेर संघीय समाजवादी फोरमको केन्द्रिंय सचिवको हैसियतमा चुनावी मैदानमा छन् ।

क्षेत्र नं २

प्रदेश सभा क्षेत्र नं २ मा आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, ट्याम्के मैयुङ गाउँपालिकाको (६७८र ९ वडा), भोजपुर नगरपालिकाको (६,७,८,९,११ र १२ वडा) र पौवादुङ्मा गाउँपालिकाको(३,४,५ र ६ वडा) पर्दछ ।

यहाँ ४१ वडा छन् भने एमालेले १९ वडा सहित१२ हजार ५४६ मत ल्याएको छ । त्यस्तै कांग्रेसले ८ वडा सहित ८१७४ मत र माओवादीले १४ वडासहित८६२८ मत ल्याएको देखिन्छ ।

आमचोक गाउँपालिका

१० वडा रहेको आमचोक गाउँपालिका प्रमुख, उपप्रमुख सहित माओवादीले ५ वटा वडा जितेको छ भने उसले २८६८ मत ल्याएको थियो । एमालेले ४ वटा वडा सहित २६३४ मत प्राप्त गरेको छ ।

त्यस्तै एउटा वडा सहित कांग्रेसले १०७७ मत ल्याएको देखिन्छ । यहाँको कतिपय वडामा कांग्रेसले माओवादीलाई सघाएको थियो ।

हतुवागढी गाउँपालिका

९ वडा रहेको यो गाउँपालिकामा ५ वडा सहित प्रमुख उपप्रमुख एमालेले जितेको गाउँपालिका हो यो । यहाँ एमालेविरुद्ध कांग्रेस, माओवादी र फोरम गठबन्धन बनेको थियो । गठबन्धन नहुँदा यो क्षेत्र एमालेले क्लिन स्विप गर्ने क्षेत्र हो ।

गठबन्धनकाबीच एमालेले ३२८१ मत ल्याएको छ भने माओवादीले एउटा वडा सहित ९८३ मत ल्याएको थियो । त्यस्तै तीन वडा सहित कांग्रेसले २८३३ मत प्राप्त गरेको थियो ।

रामप्रसाद राई गाउँपालिका

यो गाउँपालिकाको प्रमुख एमाले र उपप्रमुख माओवादीले जितेको छ । ८ वडा रहेको यहाँ एमालेले तीन वडा सहित २३५९ मत ल्याएको थियो भने ४ वडा सहित माओवादीले २५०३ मत प्राप्त गरेको थियो । कांग्रेसले एउटा वडा सहित ११०३ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

पौवादुङ्मा गाउँपालिका (३,४,५र ६ वडा)

यो गाउँपालिकामा प्रमुख एमाले र उपप्रमुख माओवादीले जितेको छ । यी चारवटा वडामध्ये तीन वडा माओवादीले जितेको छ भने एउटामा एमालेले जितेको छ । यहाँ माओवादीले १३५३ मत ल्याउँदा एमालेसँग १२५४ मत छ भने कांग्रेसले ७६२ मात्र मत प्राप्त गरेको थियो ।

ट्याम्के मैयुङ गाउँपालिका

यहाँका ४ वडामध्ये एमालेले तीन वडा जितेको छ भने माओवादीले एउटा वडा जितेको छ । एमालेसँग यहाँ ११२६ मत छ भने माओवादीले ५९७ र कांग्रेसले ५३६ मत ल्याएको थियो ।

यहाँका कतिपय वडामा एमाले बाहेकका दलले गठबन्धन गरेका थिए । यो गाउँपालिका प्रमुख उपप्रमुख एमालेले जितेको गाउँपालिका हो । यी चार वडातिरबाट उपप्रमुख र क्षेत्र नं १ मा पर्ने बाँकी वडाको क्षेत्रबाट प्रमुखले जितेका थिए ।

भोजपुर नगरपालिका(६,७,८,९,११ र १२ वडा)

भोजपुर नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको नगरपालिका हो । यी छ वडाम्मध्ये एमालेले तीन र कांग्रेसले तीन वडा जितेका हुन् । यहाँ एमालेले १८९२ मत ल्याएको छ भने कांग्रेसले १८६३ र माओवादीले ३२५ मत ल्याएको थियो ।

क्षेत्र नं २ को प्रदेश सभामा एमालेका पोलिटब्यूरो सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई वाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । कांग्रेस गठबन्धनले जिल्ला पार्टीका पूर्व सचिव गोबिन्दबहादुर कार्कीलाई उठाएको छ ।

प्रदेश नं १ को नेतृत्व लिने गरी चुनावी मैदानमा उत्रिएका शेरधन राईका लागि यो क्षेत्र निकै सुरक्षित क्षेत्र हो । उल्लेखित तथ्यांकका आधारमा पनि शेरधनले यहाँ बाजी मार्ने पक्कापक्की नै छ ।

किनभने शेरधनको गठबन्धनसँग यहाँ १३ हजार बढी मत छ । यसअघि यही क्षेत्रमा दुई पटक निर्वाचन जितिसकेको र प्रदेश नं १ को मुख्यमन्त्री बन्ने गरी चुनावी मैदानमा भएका कारण पनि शेरधनलाई यो तथ्यांकले धेरै सुरक्षित देखाउँछ ।

त्यतिमात्र हैन शेरधन प्रदेश नं १ को पहिलो चरणमा हुने प्रदेश सभाको निर्वाचनमा सबैभन्दा हेभिवेट उम्मेदवार समेत हुन् ।

यो निर्वाचन क्षेत्रमा एमालेसँग १२५४६, माओवादीसँग ८६२८ , कांग्रेससँग ८१७४ र फोरमसँग ३५२ मत छ । वाम गठबन्धनको मत जोड्दा २१ हजार १७४ हुन आउँछ ।

कांग्रेस गठबन्धनको ८ हजार ५२६ मात्र मत छ । यो मतको अन्तर भनेको १२ हजार ६४८ हुन आउँछ । यति धेरै मत अन्तर हुनु भनेको कांग्रेस गठबन्धनका लागि निकै मुस्किल पर्नु हो ।

यहाँ प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट माओवादी नेता सुदन किराँती र कांग्रेस गठबन्धनबाट कांग्रेस नेता उमेशजंग रायमाझी मैदानमा उत्रिएका छन् ।

स्थानीय तहको वडा तहसम्मको मतलाई आधार मानेर हेर्दा रायमाझीका लागि यो चुनाव निकै महंगो सावित हुने देखिन्छ । किनभने वाम गठबन्धनसँग ४० हजार २१ मत छ भने कांग्रेस गठबन्धनसँग २१ हजार ९०५ मत छ ।

यो मतको अन्तर भनेको १८ हजार ११६ हो । यति धेरै मतकाबीच दुई नेताको प्रतिस्पर्धा कस्तो हुने हो त्यो भने अझै हेर्न बाँकी छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्