बाग्लुङमा कांग्रेस एक्लैसँग जनमोर्चा सहितको बाम गठबन्धन, नतिजा कस्तो आउला ? (यस्तो छ हिसाब)


 


काठमाडौं, कार्तिक ११

पहिलो चरणको निर्वाचन हुने मध्ये बाग्लुङ जिल्लामा तीन ठूला दल मात्रै नभई राष्ट्रिय जनमोर्चाको मत पनि निर्णायक हुने गर्छ ।

जसले गर्दा एमाले र माओवादी गठबन्धन मात्रै प्रतिस्पर्धा गर्दा बाग्लुङमा बलियो अवस्थामा रहेको कांग्रेसलाई पराजित गर्न गाह्रो नै थियो । जब राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सामेल भयो त्यसले गर्दा सो पक्षलाई विजयी हुन सहज हुने भएको हो ।

पुरानो अवस्था कस्तो छ ?

बाग्लुङ यस्तो जिल्ला हो जहाँ २०४८ र २०५१ सालको चुनावमा स्वतन्त्र उमेदवार विजयी भएका थिए । २०५४ सालको चुनावमा दुई क्षेत्र जनमोर्चा र एक क्षेत्रमा कांग्रेस विजयी भएको थियो ।

त्यसपछि भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका रामजीप्रसाद शर्मा, २ मा चित्रबहादुर केसी र तीन नम्बर क्षेत्रमा कांग्रेसका नरबहादुर विजयी भएका थिए ।

दोस्रो संविधानसभाको नतिजालाई हेर्दा बाग्लुङका ३ क्षेत्रमा कांग्रेस नै विजयी भयो । ०७० को उक्त निर्वाचनमा क्षेत्र नं १ बाट कांग्रेसका हरिबहादुर खड्का, प्रकाश शर्मा पौडेल र ज्ञान कुमारी छन्त्याल विजयी भएका थिए ।

सो निर्वाचनमा तीन बामपन्थी दल छुट्टा छुट्टै चुनाव लड्दाको फाइदा उठाउँदै आएको कांग्रेसलाई यो पटक भने दरै झड्का लाग्ने देखिन्छ ।

अहिलेको जनआधार : स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचन नतिजा हेर्दा बागलुङमा छुट्टा–छुट्टै मत हेर्दा कांग्रेस अगाडि देखिन्छ । नयाँ संरचनाअनुसार दुई क्षेत्रमा खुम्चिएको यो जिल्लाको स्थानीय तहको नतिजाअनुसार पनि कांग्रेस अगाडि छ ।

तर, एमाले,माओवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेपछि उनीहरु कांग्रेसभन्दा दुई क्षेत्रमा नै बलियो अवस्थामा छन् । जिल्लामा एमालेले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाको १(क), माओवादीले क्षेत्र नं २ प्रतिनिधिसभा र प्रतिनिधिसभा २(क) लिएको छ । त्यस्तै, जनमोर्चाले प्रदेशसभा १(ख) र प्रदेशसभा २(ख) लिएको छ ।

हामीले वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा सो दलको वडा अध्यक्षका उमेदवारले प्राप्त गरेको मतलाई सो दलको ताजा मतका रुपमा लिएका छौं । जसमा एक्लै लड्दा दुबै क्षेत्रमा कांग्रेस बलियो देखिएपनि तीन बाम एक ठाम हुँदा कांग्रेसलाई गाह्रो मात्रै होइन चुनाव जित्न महाभारत नै हुनेछ ।

क्षेत्र नं १ : बाम गठबन्धन ६ हजार मतले अगाडि

क्षेत्र नं १ अन्तर्गत बाग्लुङ नगरपालिका, जैमनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपाकिला गरी चार स्थानीय तह पर्दछन् । यो क्षेत्रमा एकल मतका आधारमा कांग्रेस बलियो भएपनि गठबन्धन हुँदा बामको पक्षमा २८ हजार ८०० मत छ भने कांग्रेस र राप्रपाको मत जोड्दा २२ हजार ६१९ मत हुन आउँछ ।

कांग्रेसभन्दा ६ हजारभन्दा बढी मतले अगाडि रहेको बाम गठबन्धनको तर्फबाट क्षेत्र नं १ बाट एमालेका डा. सूर्य पाठक उमेदवार बनेका छन् भने कांग्रेसको तर्फबाट सहकारी राज्यमन्त्री चम्पा देवी खड्का उमेदवार बनेकी छन् ।

प्रदेशसभातर्फ १ (क) मा बाम घटकबाट एमालेका इन्द्रलाल सापकोटा, जनमोर्चाका कृष्ण थापा उमेदवार बनेका छन् । कांग्रेसबाट दिपेन्द्र बहादुर थापा र प्रकाश पौडेल उमेदवार बनेका छन् ।

बाम गठबन्धन
एमाले : १७,४३६
माओवादी : २,१९०
राष्ट्रिय जनमोर्चा : ९,१७४
जम्मा बाम मत : २८,८००

कांग्रेस : २२,१८७
राप्रपा : ४३२ (बाग्लुङ नगरपालिकामा राप्रपाले एमालेसँग तालमेल गरेर उपप्रमुख जितेको थियो भने वडामा थोरै ठाउँमा मात्रै उमेदवारी दिएको थियो ।)

जम्मा कांग्रेसको पक्षको मत : २२,६१९

 

क्षेत्र नं २ : एक्लै बलियो कांग्रेसलाई गठबन्धन तगारो

जिल्लाको क्षेत्र नं २ अन्तर्गत गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका रहेका छन् ।

यो क्षेत्रमा एकल मतका आधारमा कांग्रेस तुलनात्मक रुपमा निकै बलियो अवस्थामा देखिन्छ । बाम तालमेलले गर्दा गठबन्धनको पक्षमा २७ हजार ८०१ मत छ भने कांग्रेसको पक्षमा १७ हजार २२० मत देखिन्छ ।

नतिजा स्थानीय तहको निर्वाचनकै आधारमा नभएपनि यसको प्रभाव हुन्छ नै । यो क्षेत्रमा गठबन्धनको तर्फबाट हालै नयाँ शक्तिबाट माओवादीमा फर्केका नेता देवेन्द्र पौडेल उमेदवार बन्दैछन् भने कांग्रेसबाट नरबहाुदर पुन उमेदवार छन् ।

प्रदेशसभा तर्फ गठबन्धनबाट क्षेत्र नं २(क) मा माओवादीका चन्द्रबहादुर बुढा मगर उमेदवार छन् भने २(ख) मा जनमोर्चाका टेकबहादुर घर्तीलाई अगाडि सारिएको छ ।

त्यस्तै, कांग्रेसबाट प्रदेशलाई २ (क) बाट मञ्जेश बम मल्ल र २(ख) मा जीत शेरचन उमेदवार बनेका छन् ।

बाम गठबन्धन
एमाले : ७,५६४
माओवादी : १२,०९८
राष्ट्रिय जनमोर्चा ८,१३९
जम्मा बाम मत : २७,८०१

कांग्रेस : १७,०१३
राप्रपा : २०७ ( ५ वडामा मात्रै उमेदवारी दिएको राप्रपाको मत फरक पर्न सक्छ । यद्यपी कार्यकर्ताको उपस्थिति नभएरै उमेदवारी नदिने हो ।)
कांग्रेसको पक्षमा जम्मा मत : १७,२२०

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्