को हुन् प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ प्रस्तावित विक्रम मैनाली ?


 


काठमाडौँ, कात्तिक १०
दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेकपा एमाले सर्लाहीबाट प्रस्तावित विक्रम मैनाली जन्म वि.सं. २०२० साउन १५ गते सर्लाही जिल्लाको तत्कालीन कर्मैया गाविसको तीन नम्बर वडामा आमा दिलमाया र बुबा टीकाप्रसाद मैनालीको कोखबाट भएको थियो । उनी सानैदेखि राजनीतिमा आवद्ध भई समाज परिवर्तनमा लागेका थिए ।

वि.सं. २०३५ सालदेखि अनेरास्ववियू सर्लाहीका तर्फबाट विद्यार्थी आन्दोलन तथा जनवादी सांस्कृतिक अभियान (जनचेतनामूलक नाटक) मा सक्रियरुपमा अभिनय गरेका उनी ३५–३६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाए बापत तत्कालीन सरकारद्वारा वारेण्टमा परेका थिए ।

तत्कालीन पञ्चायती सरकारले वारेण्ट जारी गरेपछि भारत प्रवासमा रही प्रवासी नेपाल कम्युनिष्ट पार्टीको प्रवासी संगठनसँग सम्पर्क गरी सक्रिय भएका उनी २०३७ मा पुनः नेपाल फर्की विद्यार्थी राजनीतिमा सक्रिय भए ।

२०४० सालमा ने.स्व.म.यु.को ललितपुर जिल्ला उपाध्यक्षमा निर्वाचित भएका उनी मे दिवस मनाउने क्रममा पाटन औद्योगिक क्षेत्रबाट प्रहरीद्वारा गिरफ्तारमा परेका थिए ।

केही समयपछि रिहा भएका उनी २०४२ सालमा पार्टी जिम्मेवारी अनुसार उपत्यका टेक्सटायल आन्दोलनको सहसंयोजक भई आन्दोलनमा होमिएका थिए ।

२०४२ सालमा पशुपति टायल कम्पनीमा कार्यरत रहँदा मजदुर आन्दोलनको नेतृत्व गरेबापत उनी कम्पनीबाट निष्काशित भए । २०४३ सालमा श्रम अदालतमा पशुपति कम्पनीले मुद्दा दर्ता गरी नियोजित ढंगले मुद्दामा पराजित गरिएको थियो ।

२०४५ सालमा ने.स्व.म.यु.को विभिन्न जिम्मेवारी सम्हाल्दै मजदुर आन्दोलनलाई तिव्रताका साथ अघि बढाउने अभियानमा संलग्न भए ।

यसै गरी २०४६को जनआन्दोलनमा सर्लाहीको अगुवा भई सांस्कृतिक अभियानमा आबद्ध भए भने ४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ को निर्वाचन कमिटीको सहसंयोजक तथा मञ्च व्यवस्थापकका रुपमा सक्रिय रही काम गरे । उनले ४८ मा सम्पर्क मञ्चहरुको निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२०५१ सालमा नेकपा एमाले सर्लाही–काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष चुनिएका उनले २०५१ सालमा संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसपछि जिफन्टको राष्ट्रिय पार्षद्का साथै जनकपुर अञ्चल सम्पर्क कमिटी सदस्यको जिम्मेवारी पाएका उनी २०६६ र २०७१ सालमा पार्टीको आठौँ तथा नवौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

२०६९ देखि हालसम्म जनकपुर अञ्चल सम्पर्क कमिटिमा सदस्यका रुपमा रही सांस्कृतिक विभाग प्रमुखका रुपमा कार्यरत उनी २०७१ सालको दोस्रो संविधानसभा निर्वाचनमा जनकपुर अञ्चल सम्पर्क कमिटीद्वारा संविधान सभामा समानुपातिकतर्फको उमेदवारका रुपमा प्रस्तावित भएका थिए ।

विभिन्न सन्दर्भमा विभिन्न मुलुकहरूको भ्रमण गरिसकेका उनको लोककलामा पनि उत्तिकै दक्षता छ । उनले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परियोजनामा ‘नेपाली लोकबाजा ः बाँसुरी, विनायो र मुर्चुङ्गा’ विषयमा लघु अनुसन्धान गरेका छन् भने मौलिक लोकबाजाको अनुसन्धानमा आबद्ध भई काम गरिरहेका छन् ।

उनका विभिन्न सांस्कृतिक विषयमा खोजमूलक लेखहरु प्रकाशित छन् । २०६३–०६५ सालसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी संघको अध्यक्ष भई काम गरेका पेशागत महासंघको राष्ट्रिय पार्षद्, नेपाल सांस्कृतिक पेशाकर्मी संघको अध्यक्ष, पेशागत महासंघ नेपालको महासमितिको पदेन सदस्य, २०६९ सालमा पुनः नेपाल सांस्कृतिक पेशाकर्मी संघको अध्यक्ष, नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी संगठनको अध्यक्ष, सर्लाही–काठमाडौँ सम्पर्क मञ्चको स्थापनामा नेतृत्वदायी भूमिका सर्लाही–काठमाडौँ सम्पर्क मञ्चमा आबद्ध, जनकपुर अञ्चल सम्पर्क कमिटीको सदस्य तथा सांस्कृतिक विभाग प्रमुख, सार्वजनिक संस्था कर्मचारी संगठनको सदस्य तथा सांस्कृतिक विभाग सदस्य भई जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्