विश्वकप फुटबलको पुरस्कार राशि बढ्यो, अब कति पाउँछ विजेताले ?


 


कलकत्ता, (भारत) कात्तिक १०
फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ ।

फिफाले पुरस्कार राशि बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।

ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।

विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।

विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्रसम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मूल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।

त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपलगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।

सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ । रासस/एएफपी

 

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्