वाम र प्रजातान्त्रिक गठबन्धन भएको म्याग्दीमा रोचक चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?


 


काठमाडौं, कार्तिक १०

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच  मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

म्याग्दीमा देशभर गठबन्धन बनाएका एमाले र माओवादी तथा नेपाली कांग्रेस र राप्रपाले चुनावी तालमेल गरेर उमेद्वारी दिएका छन् । प्रतिनिधिसभाका लागि एमाले माओवादीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पर्धी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट उमेद्वारी दिएका एमालेका बैकल्पीक केन्द्रिय सदस्य थापा जिविसको पूर्व उपसभापती हुन् ।

प्रजातान्त्रिक गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली काँग्रेस म्याग्दीका सभापती गर्बुजा २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग ३ हजार ४४६ मतअन्तरले पराजित भएका थिए ।

त्यस्तै, प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता बिनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन चुनावी मैदानमा छन् ।

प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट कांग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन् ।

गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन प्रजातान्त्रिकभन्दा ७ हजार मतले अगाडी देखिएको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वारले १६ हजार ९८२, राप्रपाकाले ६६०, एमालेकाले १८ हजार ९३८ र माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वारले ५ हजार ७०७ मत ल्याएका थिए ।

बेनी नगरपालीकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष र मालीका गाउँपालीकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने आँकलन गरेको छ ।

एमालेले स्थानीय तह निर्वाचनमा कांग्रेससंग तालमेल गरेको माओवादीसँग यसपाली आफ्नो तालमेल र बलीयो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित बनाउन सकेमा म्याग्दीलाई लालकिल्ला बनाउन सकिने बाम गठबन्धनको बुझाइ छ ।

२०५६ यताको संसदीय चुनावमा पराजय ब्यहोर्दै आएको कां‌ग्रेसले यसपटक जसरी पनि पुरानो बिरासत फर्काउने रणनीतीमा छ ।

स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि ४ हजार ७५  मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको छ ।

७६ वर्षिया गौचन र ३३ वर्षका केसीबीच प्रदेशको क्षेत्र न‌ं १ को प्रतिस्पर्धा

पञ्चायतकालमा एक पटक सहायक र दुई पटक राज्यमन्त्री, पहिलो जिल्ला सभापति बनेका प्रजातन्त्रिक गठबन्धनबाट उमेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचन र बाम गठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका युवा नेता बिनोद केसीको उमेद्वारीले प्रदेशसभाको क्षेत्र नम्बर १ को चुनाव झन रोचक हुने आँकलन गरिएको छ ।

म्याग्दीको राजनीतिमा हस्ती र तत्कालीन अवस्थामा जिल्लाको विकासमा महत्वपूर्ण भुमिका खेलेका ७६ वर्षिय गौचन पञ्चायतकालमा चुनाव जित्न अपनाएको अनेक हत्कण्डाका कारण उत्तिकै बिवादित पनि छन् । गौचन १९ वर्षको उमेरमा तत्कालीन पाखापानी गाविसको अध्यक्ष बनेका थिए ।

दश वर्षे जनयुद्धका क्रममा दाजु मदन केसीलाई गुमाएका ३३ वर्षिय बिनोद आन्दोलन र बलिदानबाट राजनीतिमा होमिएका हुन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेश सभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन प्रजातान्त्रिक भन्दा ७५९ मतले मात्र अगाडी रहेको बाम गठबन्धनलाई चुनाव जित्न सजिलो भने छैन् ।

नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वारले ११ हजार ३८३, एमालेकाले १० हजार २९१, माओवादी केन्द्रकाले दुई हजार ५३९ र राप्रपाले ५८८ मत ल्याएका थिए ।

प्रजातान्त्रिक गठबन्धनका उमेद्वार गौचनलाई कमजोर संगठन, पार्टीमा आएको विभाजन, का‌ंग्रेस भित्रको असन्तुष्टी र बागी उमेद्वारका चुनौतीका रुपमा रहेका छन् ।

गौचनका भाई राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले दाजुकै क्षेत्रमा बलबहादुर सुनार र राप्रपा राष्ट्रवादीले रामबहादुर शाहीलाई उमेद्वार बनाएका छन् । स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गरेर बेनी नगरपालिकाको उपमेयरमा निर्वाचित राप्रपाकी सञ्जु बरुवालले असहयोग गरेकाले जिसस प्रमुख पद गुमाउनु परेकोमा काँग्रेस कार्यकर्ता राप्रपाप्रति आक्रोशित छन् ।

पूर्व राज्यमन्त्री र क्याप्टेनको प्रतिस्पर्धा

मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता छन् । बाम गठबन्धनको तर्फबाट उमेद्वार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पूर्व पशुपंक्षी विकास राज्य मन्त्री हुन् ।

नेपाली कांग्रेसका उमेद्वार अमलाल फगामी भारतीय गोर्खा सैनीकको सेवा निवृत भएपछि राजनीतिमा क्रियाशिल रहदै आएका छन् ।

शिक्षकको स्थाई जागिर छोडेर राजनितिमा होमीएकी कुहुँकी पुन र देविस्थानका फगामी दुवै मगर समुदायका हुन् । स्थानीय तहको निर्वाचनमा एमालेले मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालीकाको उपाध्यक्ष जितेको थियो । कांग्रेसका युवा नेता श्रीप्रसाद रोका मालीका गाउँपालीकाको अध्यक्षमा विजयी भएका थिए ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धन ६ हजार २४४ मतले अगाडी छ ।

नेपाली कां‌ग्रेसका वडा अध्यक्षका उमेद्वारले ५ हजार ५९९, एमालेकाले ८ हजार ६४७, माओवादीकाले ३ हजार २६८ र राप्रपाले ७२ मत ल्याएका थिए ।

राप्रपाले प्रदेश सभाको क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वार फगामीलाई सघाएको छ भने माओवादीले एमालेकी उमेद्वार पुनका पक्षमा छ ।

लामो समयदेखि स्थानीय स्तरको विकास निर्माणमा सक्रिय व्यक्तिलाई उमेद्वार बनाएको, विगतकका तुलनामा संगठनमा सुधार आएकाले जित्ने का‌ंग्रेसको दाबी छ ।

तालमेल र पार्टी एकिकरण गर्ने घोषणाले कारण एमाले, माओवादीका स्थानीय नेता कार्यकर्तामा उत्साह छाएको तथा पहिले देखिनै बलीयो संगठन भएको र महिला नेतालाई अघि सारेकाले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने बाम गठबन्धनको दाबी छ ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्