चुनावसम्म गाउँमा रोक्नै गाह्रो


 


मुस्ताङ, कार्तिक १०

जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन्। अन्य जिल्ला र भारतसम्मै पुग्छन्। घरहरुमा ताला मारिन्छ। एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरु अन्यत्र जान्छन्।

चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासीहरु बाहिर जान रोकिएका छन्। बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार-जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन्। सबै दलले आफ्ना निकटका मतदाता र कार्यकर्तालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्लने उँधौली परम्परामा केही फेरबदल भएको छ।

जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ।

तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्लाबाहिर जान एक महिना ढिला हुने भएको छ। सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीँ नजान उर्दी जारी गरेको स्थानीयले बताए।

उम्मेदवार र दलहरुको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन्। गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले चुनावअघि नै प्रचार थालेका थिए। -कान्तिपुरबाट

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्