वाम गठवन्धनले काठमाडौं, भक्तपुर र ललितपुरमा यसरी बाँडफाँड गरे सिट


 


काठमाडौं, कात्तिक ९
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले उपत्यकाका तीन जिल्लामा निर्वाचन क्षेत्र र सिट भागबण्डा टुंग्याएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३० सिट छ ।

सबैभन्दा धेरै काठमाडौंमा प्रतिनिधि सभाका लागि १० निर्वाचन क्षेत्र छ भने प्रदेशमा २० सिट छ । यहाँ एमालेले ७ र माओवादीले ३ निर्वाचन क्षेत्र पाउने गरी भागवण्डा मिलेको सिट बाँडफाँडमा संलग्न रहेका एक नेताले जानकारी दिए ।

काठमाडौंको निर्वाचन क्षेत्र १,२,३,४,५,७,८ र ९ एमालेले पाउने भएको छ भने माओवादी केन्द्रले ६,८ र १० निर्वाचन पाउने गरी सहमति भएको हो । त्यस्तै प्रदेश सभामा एमालेले काठमाडौंमा १७ वटा सिट आफूले लिएको छ भने माओवादीलाई तीन सिट दिएको छ ।

माओवादीले ३, ६ र १० मा एक एक सिट पाउने छ । माओवादीले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा तीन सिट पाउने गरी सहमति जनाएको हो ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र पछिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी उपत्यकामा कमजोर देखिएको हो । यी दुई निर्वाचनका मत परिणामलाई विश्लेषण गरेर सिट भागबण्डा गरिएको हो ।

त्यस्तै प्रतिनिधि सभामा तीन निर्वाचन क्षेत्र रहेको ललितपुर जिल्लामा माओवादीले एक निर्वाचन क्षेत्र पाएको छ भने एमालेले दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने भएको छ ।

एमालेले १ र २ निर्वाचन क्षेत्र लिएको छ भने माओवादीले ३ नम्बर निर्वाचन क्षेत्र पाएको छ । यहाँ एमालेले ३ र माओवादीले ३ वटा सिट प्रदेश सभाका लागि बाँडेका छन् ।

उपत्यकाको भक्तपुरमा एमालेले दुई वटै प्रतिनिधि सभामा आफ्ना उम्मेदवार उठाउने भएको छ भने माओवादीले एमालेका उम्मेदवारलाई सहयोग गर्नेछ ।

चारवटा प्रदेश सभाका सिटमा माओवादीले एउटा सिट पाएको छ भने बाँकी तीन सिटमा एमालेले पाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्