नुवाकोटमा ४६ उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा, को–को छन् ?


 


नुवाकोट, कात्तिक ८
मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि आज ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा आज नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट नेकपा माले०का उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक०का नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ हुनुहुन्छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेश सभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक) का दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जन लोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक) का मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिनुभयो ।

यस्तै, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ बाट राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयो ।

यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

यसैबीच एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारी निवर्तमान सांसद् राज्यलक्ष्मी पाण्डेले काँग्रेस उम्मेदवारको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको र पार्टी नै परित्याग गरी काँग्रेस प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभयो ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्