अन्तिम नामावली र चुनाब चिन्ह आज प्रकाशन गरिदै


 


काठमाडौं,कार्तिक ८

निर्वाचन आयोगले १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्दै छ । उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले बुधबार नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेको हो ।

आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका बनाएको छ । ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ । उम्मेदवारमाथिको दाबी विरोध सकिएपछि आयोगले कार्यतालिका अनुसार चुनाव चिह्न दिन लागेको हो ।

मंगलबार दावी विरोधको प्रक्रिया सकिएकाले आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो  ।

पहिलो चरणमा १० मंसिरमा उच्च पहाडी तथा हिमाली गरी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । २१ मंसिरमा ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्