नुवाकोटबाट लगातार ४ पटक निर्वाचित महतलाई बुढेसकालमा वाम गठबन्धन तगारो, केसीलाई पनि छैन सहज


 


काठमाडौं, कार्तिक ८

कांग्रेस नेता डा. रामशरण महत नुवाकोटबाट २०५१ पछि भएका दुई स‌ंसदीय र दुई स‌ंविधानसभा निर्वाचनमा अपराजित छन् । २०५१ सालको एमालेको माहोल होस् या २०६४ सालको  माओवादीको हुरी । उनलाई नुवाकोटबाट पराजित गर्न सकेन ।

यसरी ४ निर्वाचनमा लगातार निर्वाचित भएका उनलाई यो निर्वाचनमा भने एमाले–माओवादीको बाम गठबन्धको सामना गर्न बुढेसकालमा फलामको चिउरा हुने निश्चित छ ।

यसअघिका निर्वाचनसम्म ३ क्षेत्र रहेको नुवाकोटमा यसपटक २ क्षेत्र छन् । नेताको जिल्लाका रुपमा परिचित नुवाकोटमा २०७० को सं‌विधानसभा निर्वाचनमा कांग्रेसका तीनै उमेदवार निर्वाचित भएका थिए। जसमा महत सँगै अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी र जगदिशनरसिंह केसी निर्वाचित भएका थिए।

अहिले दुई क्षेत्र कांग्रेस नेताद्वय रामशरण महत र अर्जुननरसिंह केसीले मौका पाएका छन् भने जगदिशनरसिंह केसी प्रदेशको उमेदवार बनेका छन् । अर्का नेता तथा पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नुवाकोटमा नअटाएर काठमाडौं ५ बाट उमेदवारी दिने भएका छन् ।

नुवाकोटमा केसी र महत पक्षको आफ्नै प्रतिस्पर्धा त छँदैछ । तर अहिले बनेको बाम गठबन्धनसँगको प्रतिस्पर्धा निकै चुनौतिपूर्ण पनि उनीहरुलाई हुने देखिएको छ ।

मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लामध्ये नुवाकोटमा पनि रोचक भिडन्त हुँदैछ । यसअघि नुवाकोट–२ बाट ४ पटक निर्वाचन जितेका र कैयौंपटक मन्त्री भइसकेका कांग्रेस नेता महत अहिले कायम नुवाकोट–१ बाट उमेदवार बनेका छन् । कम्युनिष्ट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङ उमेदवार बनेका छन् ।

त्यस्तै नुवाकोट–२ मा कांग्रेसका केसी प्रतिस्पर्धामा उत्रिँदा त्यहाँ उनले एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको सामना गर्नुपर्नेछ।

नुवाकोट–१ को मतमा बाम गठबन्धन अगाडि

लगातार चार पटक निर्वाचित भएका महतलाई नुवाकोटमा समान हैसियतमा रहेका एमाले र माओवादी एक हुँदा निकै चुनौतीपूर्ण निर्वाचन हुने देखिएको छ ।

डा. रामशरण महतले ०६४ को निर्वाचनमा नुवाकोट–२ बाट १७ हजार ४४२ मत ल्याएर विजयी भएका थिए । त्यस्तै माओवादीका हितबहादुर तामाङ १७ हजार ३३८ मत ल्याएका थिए भने एमालेकी विन्दा ढुंगाना ४ हजार ५२३ ल्याएकी थिइन् ।

०७० को निर्वाचनमा १८ हजार ८३१ मत ल्याएर महत विजयी हुँदा माओवादीका हितबहादुर तामाङले १५ हजार २३३ मत ल्याएका थिए । एमाले त्यसपटक पनि तेस्रो नै भएको थियो । एमालेकी शान्ता थापा अधिकारीले २ हजार २५८ मत मात्रै ल्याएकी थिइन् ।

तेस्रोपटक पनि महतलाई रोक्न उनै तामाङ बाम गठबन्धनबाट मैदानमा उत्रिएका छन् ।

हाल निर्वाचन क्षेत्र समायोजन हुँदा निर्वाचन क्षेत्र नम्बर १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पन्चकन्या गाउँपालिका तादी गाउँपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका रहेको छ । क्षेत्रको कुल मतदाता १ लाख ५ हजार २७७ रहेको छ ।

जहाँ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरूले कूल २२ हजार ४१७ मत पाएका थिए । त्यस्तै एमालेले १८ हजार ९६३ र माओवादी केन्द्रले १८ हजार ८० मत ल्याएको थियो । राप्रपाले १ हजार ७८० मत ल्याउँदा नयाँ शक्तिले ७ सय ३३ मत मात्रै ल्याएको थियो ।

गठबन्धन गरेका दलहरूको मत जोड्ने हो भने कांग्रेस गठबन्धनको २४ हजार ९३० हुन्छ भने वाम गठबन्धनको ३७ हजार ४३ मत हुन आउँछ ।

तर कांग्रेसका नेताहरु वडाको मतलाई मात्रै आधार मान्न नसकिने बताउँछन् । उनीहरुले स्थानीय तह र केन्द्रको निर्वाचन फरक भएकाले मतदाताले पनि उमेदवार हेर्ने बताउँछन् ।

नुवाकोट २ मा पनि बाम गठबन्धन नै अगाडि

नुवाकोट–२ मा पनि कांग्रेस र वाम गठबन्धनबीच चर्को प्रतिष्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट नारायण खतिवडा  र कांग्रेस गठबन्धनका तर्फबाट अर्जुननरसिंह केसी प्रतिष्पर्धामा छन् ।

०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादी नेतृ विमला सुवेदीसँग केसी पराजित भएका थिए । सुवेदीले २० हजार ५८१ मत ल्याउँदा केसीले १२ हजार ९८४ मत ल्याएका थिए । एमालेका राजेन्द्र प्रकाश लोहनीले ६ हजार ७३० मत ल्याएका थिए ।

०७० को संविधानसभाको निर्वाचनमा भने अर्जुननरसिंह केसी १७ हजार ३४६ मतका साथ विजयी भएर विमला सुवेदीलाई पछि पारे । सुवेदीको ९ हजार १४५ मत आएको थियो । त्यस्तै एमालेका केशव पाण्डे ६ हजार ४०१ मत ल्याएर राप्रपाका प्रकाशचन्द्र लोहनी भन्दापछि परेका थिए ।

बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका मिलाएर बनाइएको हो नुवाकोट क्षेत्र नम्बर २ । र, कुल मतदाता १ लाख २ हजार ८९७ रहेको छ ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा ती तहका कांग्रेसका वडाध्यक्षले २२ हजार ४५५ मत पाएका थिए भने एमालेले २२ हजार ८६९ मत ल्याएका थिए । माओवादी केन्द्रको १५ हजार ३१०, नयाँ शक्तिको ६६९ र राप्रपाको ५१८ कूल मत आएको थियो ।

मत जोड्दा कम्युनिष्ट गठबन्धनको ३८ हजार २०६ र कांग्रेस गठबन्धनको २३ हजार ६४२ हुन आउँछ ।

समग्रमा एमाले माओवादी केन्द्रको मत पाएको सबै मत गठबन्धनलाई खस्ने हो भने नुवाकोटमा लगातार आफ्नो प्रभाव जमाउँदै आएका यी दुई कांग्रेस नेतालाई फलामको चिउरा हुने निश्चित प्राय: छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्