प्रहरीलाई रेडक्रसको सामग्री सहयोग


 


चितवन, कात्तिक ७

नेपाल रेडक्रस सोसाइटी चितवनले राजमार्ग र सडक खण्डमा सवारी दुर्घटना हुँदा उद्धारका लागि आवश्यक सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनलाई हस्तान्तरण गरेको छ ।

जापानिज रेडक्रस सोसाइटीको सहयोगमा प्राप्त ती सामग्री सोमबार रेडक्रसका सभापति ज्ञानशाली न्यौपानेले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमाललाई हस्तान्तरण गर्नुभएको हो ।


सो अवसरमा सडक दुर्घटना हुँदा तत्काल उद्वारमा सहयोग पुग्ने सामग्री हस्तान्तरण गरिएको थियो । न्यौपानेका अनुसार हस्तान्तरित सामग्रीमा डाइनामिक डोरी, हाइलोजिन सर्च लाइट, जुमर, सिट हारनेश, फिगर अफ एट, लक क्याराबिनर, हाते पञ्जा, पुल्ली, हेडलाइट, हातेमाइक, स्टे«चर, लाइफ ज्याकेट, ब्याक बोड, थ्रो ब्याग, हेलमेटलगायत १५ किसिमका रु दुई लाख ९६ हजार बराबरका सामग्री छन् ।

ती सामग्री नदीमा खसेका सवारी साधनको उद्धार र खोजीका साथै सडकमा हुने सवारी दुर्घटनामा सहयोगी हुने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हमालले सामान्य दुर्घटनामा पनि कम मूल्यका तर अतिआवश्यक सामग्रीको अभावमा विपत् व्यवस्थापन एवं उद्धारमा कठिन हँुदै आएको बताउनुभयो ।

सो अवसरमा साविकको दारेचोक गाउँपालिकाका नौ वडामा गठित विपत् व्यवस्थापन समितिलाई पनि विपत् व्यवस्थापनमा आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो । रासस

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्