सिटौलाले झापा ३ नछोड्ने भनेपछि कांग्रेस–राप्रपा तालमेल धरापमा, अब कसले मार्ला बाजी ? (विश्लेषणसहित)


 


काठमाडौं, कार्तिक ७

झापा जिल्लाका ५ क्षेत्र मध्ये ३ नम्बरमा कांग्रेस बलियो छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र भएका कारण पनि यो चर्चाको क्षेत्र हो ।

तर, कांग्रेससँग तालमेल गरेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देल पनि सो क्षेत्रका बलिया र प्रभावसाली नेता हुन् । राप्रपाले सोमबार मात्रै उनलाई झापा ३ मा उमेदवार घोषणा गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सो क्षेत्र राप्रपालाई दिन तयार भएपनि सिटौला भने आफ्नो क्षेत्र राप्रपालाई बुझाउने पक्षमा छैनन् । लिङ्देलको उमेदवारी घोषणा भएलगत्तै सिटौलाले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेपछि दुई पार्टी बीचको चुनावी तालमेल धरापमा परेको हो ।

क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी गाउपालिका, हल्दीवारी गाउपालिका, कचनकवल गाउपालिका, भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिकाको वडा नं.१० पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तहको मतअनुसार एमालेको २० हजार २९६ मत छ भने कांग्रेसको १८ हजार २६० मतसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रको १० हजार ४४४ मत छ भने राप्रपाको १२ हजार ८८१ मत छ । एकल मतमा एमाले अगाडि भएपनि एमाले–माओवादी एकतर्फ र कांग्रेस–राप्रपा अर्कोतर्फ हुँदा बाम गठबन्धन पछाडि देखिन्छ ।

योे क्षेत्रमा कांग्रेस–राप्रपाको मत ३१ हजार ११४ मत छ भने एमाले–माओवादीको ३० हजार ७८० मत छ ।
निर्वाचन क्षेत्र हेरफेर भएपनि यो निर्वाचन क्षेत्रमा पुरानो ३ नम्बर क्षेत्र नै समेटेर बनाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पकड रहेको छ । बाम गठबन्धन बन्दा समेत यो क्षेत्रमा कांग्रेस–राप्रपालाई हराउन गाह्रो देखिन्छ ।

तर, पार्टीले राप्रपासँग तालमेल गरेको र उक्त क्षेत्रमै राप्रपाको दाबी रहेकाले कांग्रेस अफ्ट्यारोमा परेको छ ।
बाम गठबन्धनमा भने एमालेले माओवादीलाई यो क्षेत्र लिन भनेको छ भने माओवादीले यो भन्दा क्षेत्र नं २ र ४ मा रुचि देखाएको बताइएको छ ।

यो क्षेत्रमा राप्रपा र कांग्रेस दुबैले आफ्नो दाबी नछोड्दा र एक ले अर्कालाई सहयोग गर्न तयार नहुँदा बाम गठबन्धनलाई नतिजा आफ्नो पक्षमा पार्न सजिलो हुने देखिएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्